उद्योग बाणिज्य महासंघ प्रदेश १ ले सस्तो ब्याज दरमा व्यवसाय गर्नेलाई ऋण उपलब्ध गराउँदै

विराटनगर । के तपाईं कुनै व्यवसायिक योजनाका लागि बैंकबाट ऋण लिन खोजिरहनु भएको छ ? यदी हो भने नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ मा सम्पर्क गर्नुहोस् । महासंघले छिटो, छरितो र कम ब्याज दरलगायतका सुबिधामा बैंकबाट ख्ण उपलब्ध गराउन मद्दत गर्छ । किनकी महासंघले ग्लोबल आइएमइ बैंकसँग बैंकको पहुँच नभएका साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, महिला, अपांगता भएका व्यक्तिलगायतलाई प्राथमिकतामा राखी सस्तो ब्याज दरमा ५ दिनभित्र ऋण उपलब्ध गराउने समझदारी गरेको छ ।

महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकाल र बैंकका प्रदेश प्रमुखख सुवाष सापकोटाबीच आज एक कार्यक्रमका बीच समझादारी भएको हो । महासंघका केन्द्रीय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रिय सदस्य एवं प्रदेश महासंघका सल्लाहकार श्री अविनाश बोहरा, उपाध्यक्ष श्री भीम पौडेलको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महासंघको सिफारिसमा साना व्यवसायी, स्टार्टअप व्यवसाय, नवउद्यमी, कृषि व्यवसायमा संलग्न उद्यमीहरु, महिला, अपांगता भएका व्यक्तिहरुका लागि सस्तो ब्याज दरलगायतका सुबिधामा बैंकले ऋण उपलब्ध गराउने सहमति भएको छ ।

बैंकले महासंघको सिफारिसका आधारमा ऋण लिने व्यवसायीलाई चलन चल्तीको ब्याजदरमा ०.५० प्रतिशत प्रिमियम छुट र ब्याज दर कायम गर्दा बैंकको वेस रेटमा न्युनतम १ प्रतिशत प्रिमियम थप गरी हुन आउने ब्याजदर कायम गरिने छ । प्रशासनिक सेवा शुल्कमा पनि ०.२५ प्रतिशत छुट प्रदान गरिने समझदारी पत्रमा उल्लेख छ ।

महिलारएकल महिलालाई सरकारी सहुलियतपूर्ण कर्जा प्राथमिकतामा राखेर बैंकले उपलब्ध गराउने उल्लेख छ । अपाङ्गता भएका व्यवसायीलाई चलन चल्तीको ब्याजदरमा १ प्रतिशत प्रिमियम छुट र प्रशासनिक सेवा शुल्कमा ०.५० प्रतिशत छुट दिने र ब्याज दर कायम गर्दा बैंकको वेस रेटमा न्युनतम १ प्रतिशत प्रिमियम थप गरी हुन आउने ब्याज दरमा बैंकले ऋण उपलब्ध गराउने समझदारी भएको अध्यक्ष ढकालले बताउनुभयो ।

बैंक र महासंघले नयाँ व्यवसायीलाई आवश्यक ज्ञान, सीपका लागि तालिमको समेत व्यवस्था गर्ने सहमति भएको छ । फर्म, कम्पनी तथा त्यसकापदाधिकारीहरुलाई आवश्यकतानुसार क्युआर कोड, पी.ओ.एस. मेशिन, लकर सुविधा, डेबिट, क्रेडिट कार्ड, मोबाइल स्मार्ट र इन्टरनेट बैंकिंग सेवा सुलभ ढंगले उपलव्ध गराउने सहमति भएको ढकालले बताउनुभयो ।

बैंकले फर्म कम्पनीका कर्मचारीहरुको व्यक्तिगत खाता खोली तलब खाता कायम गर्ने, डेबिट, क्रेडिट कार्ड, लकर सुविधा एवं मोबाइल स्मार्ट र इन्टरनेट पहिलो वर्ष निःशुल्क उपलब्ध गराउनुका साथै व्यक्तिगत कर्जा र घरकर्जामा समेत विशेष सुविधा दिनुपर्ने समझदारी पत्रमा उल्लेख छ ।

महासंघले आफ्ना सदस्य व्यवसायीहरुलाई प्रथम पक्ष बैंकसँग कारोवारका लागि प्रोत्साहित गर्ने, बैंकले दिएको ऋण भुक्तानीमा सहजीकरण, बैंकबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराउने समझदारी भएको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताउनुभयो ।

Back to top button