उदयपुरमा मृत भेटिएकी किशोरीको हत्यामा सम्लग्न दुई युवा पक्राउ

उदयपुर । हत्या गरिएको अवस्थामा फेला परेकी उदयपुरकी एक किशोरीको हत्यामा सम्लग्न दुई युवालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

उदयपुर प्रहरीले आज पत्रकार सम्मेलन गरि हत्यामा सम्लग्न सप्तरी सुरुङ्गा १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय बिशे सदालाई सार्वजनिक गरेको हो । उनीहरुले बदला साध्न हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

उचितलाल र मृतक किशोरी कृशला चौधरी मिल्ने साथी थिए । कृशलासँग उचितलाल नजिक भएको भन्दै उनकी श्रीमतिले छाडेपछि त्यसको प्रतिशोध साध्न उनले हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

१० कक्षामा अध्ययनरत त्रियुगा नगरपालिका– ६ मोहनपुरकी किशोरी कृशला साउन १३ गते देखी परिवारसँग सम्पर्क विहीन भएकी थिईन् । साउन १९ गते उनको शव सडेगलेको अवस्थामा सामुदायिक वनमा भेटीएको थियो ।

प्रहरीको अनुसन्धानमा साउन १३ गते घर बाट निस्किएकी कृशला दिउसो ३ देखी नै उचितलाल र बिशेसँगै रहेको पाइएको छ । सोही दिन राती १० वजे उनको हत्या गरी राजदेवी सामुदायिक वनको खहरे खोला छेउको रुखको मुनी ढुङगा माटोले पुरेर शव लुकाएर राखेको उनीहरुले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

कृशलालाई पहिला एक जनाले लडाएको र अर्कोले छातीमा थिचेर मुड्की प्रहार गरेर हत्या गरेका रहेछन जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख चन्द्रदेव बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुशार यस घटनाको रहस्य पत्ता लगाउन १ सय जना भन्दा बढी ब्यक्तिलाई सोधपुछ र नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपरेको थियो ।

Back to top button