पपुवा न्यूगिनीसँग नेपालले एकदिवसीय सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुईवटा एकदिवसीय खेल खेल्न लागेको हो।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो। लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ।

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी हुनुहुन्छ। बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल सहभागी हुनुहुन्छ ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। नेपाल चार खेलमा दुई जित र दुई खेलमा हारका साथ चार अङ्क जोड्दै छैटौँ स्थानमा छ।

ओमान १० खेलमध्ये आठमा जीत र दुईमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ। अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्कका साथ दोस्रो स्थानमा छ। स्कटल्यान्ड ९ अङ्क जोड्दै तेस्रो स्थानमा छ। नामिबिया ८ अङ्कसहित चौथो स्थानमा छ। युएई ७ अङ्क जोड्दै पाँचौँ स्थानमा छ भने पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित बन्दै अङ्कबिहीन रहि पुछारमा छ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन्। लिग–२ का शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्।

Back to top button