धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही प्रकृया अगाडी बढाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदलाई कारवाही प्रकृया अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरूले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही गर्न सिफारिस गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरूको नाममा खरिद गरेर पदीय आचरण विपरित काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो।

नियामक निकाय आफैले पदीय मर्यादा विपरित सेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले बताउनुभयो ।

समितिका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Back to top button