दमकमा कमल गाउँपालिका गाभ्ने निर्णयप्रति असहमति

दमक । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई गाभेर उपमहानगरपालिका बनाउने निर्णय गर्दै पहल थालेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन्।

नेकपा एमालेले दमक नगरपालिकाले सहअस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाईसमेत थाहै नदिइ गरेको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णयको विरोध गरेको छ ।

पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिव हरि ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दीर्घकालीन महत्वका विषयमा निर्णय लिन जाँदा समान र सह–अस्तित्वको नीति अङ्गिकार गर्न आग्रह गर्दछौ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह–अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाको एकलौटी र मनोमानी ढङ्गले गरेको उपमहानगरपालिका बनाउने निर्णयप्रति असहमति रहेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्ति जारी गर्दै विगतमा कमल गाउँपालिकालाई गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा स्तारोन्नती गर्न आग्रह गर्दा बेवास्ता भएको स्मरण गराएको छ । ‘विगतमा बेवास्ता गरिएको उपमहानगरपालिका बनाउने प्रस्ताव अहिले कसरी आयो ?’ भन्दै राप्रपाले विज्ञप्तिमा प्रश्न गरेको छ ।

दमक नगरपालिकाको साउन २८ मा सम्पन्न ९६औं बैठकबाट कमल गाउँपालिकालाई समेत गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई नगरपालिकाले संघीय मन्त्रालयमा पत्रचार समेत गरि उमपहानगरपालिका बनाउन जोड गरिरहेको छ ।

पहिले पनि स्थानीयको माग कमल गाउँपालिकालाई गाभेर उपमहानगरपालिका बनाउने रहेको भन्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सवैको साथ रहँदा मात्र उपमहानगरपालिका बन्ने बताउनुभयो ।

‘हामीले पहल शुरु गरेका छौं, सम्भावना देखिए सवैसँग छलफल र परामर्श हुन्छ’ उहाँले भन्नुभयो,‘यसमा राजनितिक दलहरुकै असहमति रहे उपमहानगरपालिका नहुन सक्छ ।’

Back to top button