होटलमा खाएको उधारो नतिर्न बम राखेर तर्साेउने एक जना पक्राउ

काठमाडौं । होटलमा आएको उधारो तिर्न नसकेपछि बम राखेर तर्साउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-२ डाडाँगाउँ घर भइ हाल थिमी बस्ने ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ थिमीमा रहेको दिब्येश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु भेटिएको भन्दै हिजो साझ होटल संचालकले प्रहरीलाई खबर गरे ।

गेष्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नाङ्गो तार जोडेर तौलियाले बाँधेको भेटिएपछि महानगरीय प्रहरी वृत्त थिमीमा खबर गरेका हुन । खबर गरे लगतै प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीसहितको टोलीले घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो ।

राति साढे १० बजे निस्क्रिय पारिएको उक्त शंकास्पद वस्तु कुनै विस्फोटक पदार्थ नभएको प्रहरीले बताएको छ । कुकरभित्र ब्याट्री र तार राखी बिजुलीको प्लगमा जोडेको प्रहरीको भनाई छ ।

साउन ३२ गतेबाट दिब्येश्वरी गेष्‍ट हाउसको ११० नम्बरको कोठामा बुद्ध चित्रको माला बेच्न बसेको तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई ‘होक्स बम’ बनाएर गेष्‍ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्नेको प्रहरीको भनाई छ ।

यसअघि गेष्ट हाउसमा बसेर खाएको उधारो ४० हजार साहुले माग्न थालेपछि गेष्‍टहाउस संचालकलाई तर्साउन त्यो सामान राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button