लकडाउनमा मेलामहोत्सवका लागि ५० लाख खर्च

विराटनगर । प्रदेश सरकारले लकडाउनका समयमा मेलामहोत्सव आयोजनाका साथै प्रस्तावभन्दा बढी खर्च गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ ।

प्रदेश मन्त्रिपरिषदको २०७७ जेठ २१ गतेको निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले व्यापार मेला आयोजना तथा मेला उत्सव प्रवद्र्धन कार्यक्रम गर्न काठमाडौंका २ तथा झापा, मोरङ र सुनसरीका १४ गरी १६ वटा संस्थालाई कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र संस्थाबीच सम्झौता नगरी ४० लाख ८३ हजार सोझै बितरण गरिएको महालेखाको प्रतिवेदनमा औल्याएको छ ।

यस्तै, जेठ २७ गते विराटनगरको एक संस्थालाई औद्योगिक मेला सञ्चालनका लागि ९ लाख दिइएको भन्दै महालेखाले २०७६ फागुन ११ गतेदेखि लकडाउन गरिएको र मेला उत्सव गर्न रोक लगाइएको समयमा भएको खर्चको छानबिन गर्न भनेको हो । विना प्रतिवेदन भुक्तानी दिइएको भन्दै बिलभर्पाई छानबिनका लागि सुझाव दिइएको छ ।

Back to top button