कक्षा १२ का विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा जिल्ला जिल्लामै खोप लगाइने

काठमाडौं । कक्षा १२ का विद्यार्थीहरुलाई धमाधम कोरोना भाइरसविरुद्ध खोप लगाउन थालिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षा दिइरहेका र दिने तयारीमा रहेका विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउन थालिएको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा.झलक गौतमले देशभरका खोप केन्द्रहरुबाट विद्यार्थीहरुलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो। ‘हामी कहाँ तीन लाख ९० हजार विद्यार्थीलाई खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्र प्राप्त भएको छ। सोहि आधारमा सम्बन्धित जिल्लाले खोप लगाउन सुरु गरेका छन्।’ उहाँले भन्नु भयो, ‘हामीले खोप उपलब्ध गराउन भनेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचारपनि गरेका छौं।’

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबारदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीलाई खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो। ३१ साउनदेखि तोकिएको कक्षा १२ को परीक्षा संक्रमण बढ्दै गएपछि परीक्षा स्थगित भएको थियो।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले पनि परीक्षार्थीलाई खोप दिलाउन सरकारलाई निर्देशन दिएको थियो। तत्पश्चात् स्वास्थ्य मन्त्रालयले एष्ट्राजेनेका वा भेरोसेलमध्ये एक खोप उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको थियो। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिले कोभिड–१९ विरुद्ध खोप ४० वर्ष वा सोभन्दा माथिल्लो उमेर समुह, १८ वर्ष पुरा भएका, कक्षा ११ र १२ का विद्यार्थीलाई र विश्वविद्यालय तहको परिक्षाको प्रवेशपत्र लिएका बविद्यार्थीहरु खोप लगाउने निर्णय गरेपछि सहज भएको हो।

शिक्षा मन्त्रालय र सीसीएमसीको समन्वयमा संक्रमणको स्थितिलाई मूल्याङकन गरी कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गर्ने बोर्डको तयारी छ। हालसम्म झण्डै ४० लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन्।

Back to top button