सभामुख विरुद्ध प्रतिपक्षले धम्की दिएको सत्ता गठबन्धनको आरोप

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धम्की दिएको सत्तारुढ गठबन्धनले आरोप लगाएको छ ।

आज सत्ता गठबन्धनका नेताहरुले विज्ञप्ती निकाल्दै प्रतिपक्षी दलले सभामुखलाई धम्की दिएको आरोप लगाएका हुन ।

नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का नेताहरूले संयुक्त रुपमा विज्ञप्ति निकालेर संवैधानिक मर्यादाको अवलम्बन गर्न प्रतिपक्षलाई आग्रह गरेका छन ।

विज्ञप्तिमा नेकपा एमालेका सदस्यहरूले सभामुखज्यूलाई लक्षित गरी दिएको संसदीय मर्यादाविपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरूमा दिनुभएको धम्कीमूलक अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चा सांसद दुर्गा पौडेल र नेकपा (एकीकृत समाजवादी) सांसद जीवनराम श्रेष्ठको हस्ताक्षर रहेको छ ।

विज्ञप्तिमा सभामुख विरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादा अवलम्बन गर्न आग्रह गरीएको छ ।

एमालेका १४ जना सांसदहरूलाई चाडो कारवाही गरेको सुचना टास गर्न नेकपा एमालेले माग गर्दै आएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा सभामुखको भूमिकामाथि टिप्पणी गर्नुभएको थियो ।

 

Back to top button