इजरायल परीक्षा भदौ अन्तिम साता गर्ने तयारी

काठमाडौं । इजरायल वैदेशिक रोजगारीमा जानका लागि आवेदन दिएकाहरूको परीक्षा भदौ अन्तिम सातामा गर्ने गरी तयारी गरीएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी भौतिक उपस्थितीमै परीक्षा गराउन लागेको विभागले जानकारी दिएको छ ।

इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा १ हजार सहयोगी माग गरेको छ। जसका लागि आवेदन दिएकाहरूको परीक्षा गर्ने तयारी गरेको हो।

विभागले माग भन्दा ९ गुणा बढी आवेदन परेको जनाएको छ । आकर्षक तलब सुविधा भएकाले धेरै आवेदन परेको र परेका आवेदनको भेरिफिकेशन भइरहेको विभागको भनाई छ ।

स्थानीय प्रशासन, सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परीक्षा केन्द्र र मिति तोक्नका लागि पत्राचार गरिसकिएको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी दिनुभयो ।

इजरायलमा रोजगारीका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंक ल्याउने उत्तीर्ण हुने छन्। तर मेरिटका आधारमा छनोटमा परेकालाई अन्तरवार्ताका लागि बोलाइने छ।

इजरायलले पहिलो चरणमा १ हजार कामदार माग गरेको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिला गरी ९ हजार ६ सय ९९ आवेदन परेको विभागले जनाएको छ ।

पहिलो चरणमा शैक्षिक योग्यता, सीप तथा तालिम, तौल, उचाइलाई हेरिन्छ। साथै अनलाइन फारम भर्दा प्रमाणपत्र स्पष्ट नदेखिएकालाई मौका दिइने विभागले जनाएको छ। २४ घण्टा समय दिएर आवेदकलाई फोन वा इमेलबाट जानकारी गराइने छ।

Back to top button