श्रेष्ठद्वारा ९० औं पटक रक्तदान

विराटनगर । यहाँका एक औषधि व्यवसायीले ९० औं पटक रक्तदान गर्नुभएको छ । विराटनगरका औषधी व्यवसायी हरिमोहन श्रेष्ठले विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि रक्तदान गर्नुभएको हो ।

आइतबार राति उर्लाबारी ४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते माझीको अस्पताल भर्ना गरिएका थियो । माझीको करङ भाँचिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ‘ए’ पोजेटिभ रगत आवश्यक भएपछि श्रेष्ठले रक्तदान गर्नुभएको माझीका दाजु भोलानाथ माझीले बताउनुभयो ।

श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रक्तदान गर्दै आउनुभएको छ । यसअघि पनि उहाँले बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गर्नुभएको थियो ।

त्यसपछि तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्न पाएको उहाँको भनाई थियो । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताउनुभयो ।

विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान कायम छ । यस्तै नेपालमा काठमाडौंका प्रेमसागर कर्मचार्यले १६६ पटक रक्तदान गर्नुभएको हो । तर नेपालमा सबभन्दा बढी पटक रक्तदान गर्ने अर्जुन मैनाली हुनुहुन्छ । हाल अमेरिकामा रहनुभएको मैनालीले आफ्नो जनिमा रक्तदान गरेको ३४ औं वार्षिकोत्सव मनाउ“दै शुक्रबार १९९ पटक रक्तदान गगर्नुभएको छ ।

Back to top button