बेलबारीकी उपमेयर पराजुली अमेरिकामा सम्मानित

बेलबारी । मोरङको बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकाको भर्जिनिया राज्यमा आयोजित एक कार्यक्रममा पराजुलीले नेपाली कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका(इनास)ले उहाँलाई सम्मान गरेको हो ।

विदेशी भूमिमा रहेर नेपाली भाषा र कलाकारिताको विकास प्रवर्द्धनका निम्ति क्रियाशील कलाकारहरुको संस्था इनासको अमेरिका स्थित विभिन्न राज्यहरुका कमिटीहरुको मनोनयन, सपथ ग्रहण एवम् सांस्कृतिक कार्यक्रममा सम्मान समेत गरिएको संस्थाका अध्यक्ष आनन्दु लामाले बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि कलाकार साबु गदाल कार्कीले कला क्षेत्रको विकास र उन्नयनका लागि इनासको सक्रियता र भूमिका उल्लेखनीय रहेकोले अझ सक्रिय भएर अघि बढ्नुपर्ने बताउँदै सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभयो ।

इनासद्वारा सम्मानित हुन पाएकोमा अत्यन्तै गर्वबोध भएको साथै बाध्यताले विदेशी भूमिमा रहेका नेपाली कलाकारहरुको सक्रियता र गतिशीलताले नेपाली भाषाको र कला क्षेत्रको विकासमा ठूलो सहयोग पुगेको साहित्यकार एवम् उपमेयर पराजुलीले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने साधकहरुलाई सम्मान गरिएको थियो ।

Back to top button