दोहोरो नागरिकताको आरोपमा एक जना पक्राउ

राजविराज । सप्तरीबाट नागरिकता लिएका एक जनाको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि पक्राउ गरिएको छ। दोहोरो नागरिकता लिएको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बस्ने फेकु मण्डल अमातको छोरा प्रमोदकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

नेपाली नागरिकता, मतदाता परिचय पत्रका साथै भारतीय आधारकार्ड फेला परेपछि मण्डललाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको सहायक सिडिओ नाथु साहले जानकारी दिनुभयो। ‘मण्डलको साथबाट नेपाली र भारतीय दुबै परिचयपत्र बरामद भयो।’ सहायक सिडिओ साहले भन्नु भयो– ‘दुईवटै परिचयपत्रमा उल्लेख भएको नाम, ठेगाना र तस्बिरको आधारमा उनी दुवै देशको नागरिक रहेको बुझिएकाले पक्राउ गरिएको हो।’

मण्डलले जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ०६२ भदौ १७ गते नागरिकता प्रमाण पत्र लिएको देखिन्छ। जन्म मिति ०४६ जेठ २३ गते रहेको मण्डलको नागरिकता प्रमाणपत्र नम्बर नम्बर ६६७३ र मतदाता परिचय पत्र ०६७४५८७४ रहेको छ।

यस्तै मण्डलसँग फेला परेको भारतको आधारकार्डमा पिप्रा खुर्द बिष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। भारतीय आधार कार्डको नम्बर ७५२७१४७९७९८३ रहेको छ। दुबै देशको परिचयपत्रमा नाम, बुवाको नाम र तस्बिर एउटै मानिसको रहेको छ।

भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेपछि दोहोरो नागरिकता लिएको आरोपमा मण्डलमाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरी जनाएको छ। मतदाता पचिचय पत्र र आधारकार्ड एकसाथ भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उहाँले नेपाली नागरिकता पनि लिएको खुलेपछि प्रशासनले नागरिकता पनि बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलको हस्ताक्षरमा ०६२ भदौ १७ गते जारी नागरिकताको प्रतिलिपी उहाँले ०७७ पुस १७ गते निकाल्नु भएको हो । प्रतिलिपीमा तत्कालिन प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरको हस्ताक्षर छ।

पक्राउ परेका मण्डलले भारतमा मजदुरी गर्दा आफूसहित धेरै जनाले भारतीय आधार कार्ड बनाएको बताउनु भएको छ । अनुसन्धानको दायरा फराकिलो बनाउँदै मण्डललाई दोहोरो नागरिकता लिएको कसूरमा नागरिकता ऐन २०६३ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतबाट मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी माधवप्रसाद काफ्ले जानकारी दिनुभयो ।

Back to top button