निजी लगानीमा मोरङको कानेपोखरीमा ‘ट्री हाउस’ निर्माण, पर्यटकीय केन्द्र बन्ने अपेक्षा

राजकुमारी तामाङ,

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका– ७ मा ‘ट्री हाउस’ (रूख घर) निर्माण गरिएको छ । पूर्वपश्चिम् राजमार्ग अन्तर्गत पर्ने कानेपोखरी चोकदेखि दक्षिण तर्फ रहेको ग्रामीण सुधार सामुदायिक वन क्षेत्रभित्रको साकेला थान परिसरमा यो घरको निर्माण गरिएको हो ।

राई जातिहरूको धार्मिक स्थल साकेला थानमा निर्माण गरिएको यो घर ठूला रूखहरूको सहायतामा निर्माण गरिएको छ । कलात्मक ढङ्गले निर्माण गरिएको यो घरले त्यहाँ पुग्ने जोसुकैको ध्यान आकर्षण गर्ने गरेको छ । कानेपोखरी– ५ जहदा निवासी रामकाजी राईले एकल लगानीमा निर्माण गरेको घर सम्पन्न हुँदा करिब १५ लाखको लगानी हुने अनुमान गरिएको छ ।

अन्तिम चरणमा निर्माणको काम भइरहेको यस घरको निर्माण सम्पन्न भएसँगै पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास रामकाजिको छ । उहाँले भन्नुभयो,‘ट्रि हाउस गाउँपालिकाको पर्यटकीय केन्द्र बन्ने अपेक्षा गरेका छौं ।’

१३ बर्ष ब्रीटिस सेनाको रुपमा काम गरेर फर्कनु भएका रामकाजीले बेलायत बस्दादेखि नै नेपाल फर्किएर आकर्षक पर्यटकीय क्षेत्र निर्माण गर्ने सोंच बनेको बताउनुभएको छ ।

रामकाजीका अनुसार अब केहि प्रतिशत मात्र काम बाँकी रहेकाले चाँडै काम सम्पन्न गरि सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी गरिएको छ । दुई तल्ले यो घरका दुवै तलामा बस्न मिल्ने व्यवस्था छ ।

जन्मोत्सव, सामान्य सभा, बैठक, भेलाका लागि यो घर सवैका लागि उपयोगी हुने रामकाजीको भनाई छ । यसका साथै आन्तरिक तथा बाह्य पर्यटककले घरमा बसेर प्राकृतिक सुन्दरतालाई पनि नजिकबाट नियाल्न सक्ने उहाँको विश्वास छ ।

‘यो घर सवै धर्म, संस्कृति मान्ने व्यक्तीको साझा सम्पत्ति हो’उहाँले भन्नुभयो,‘ ‘सबै मिलेर सहिष्णुताका साथ यस क्षेत्रलाई मानवीय मेलमिलापको संगम बन्छ भन्ने विश्वास छ ।’

गाउँपालिकाको पर्यटन प्रवद्र्धनका निम्ति यो घरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले गाउँपालिकाको कार्यालयबाट भने सहयोग नभएकोमा दुखेसो पोख्नुभयो । ‘ बारम्बार प्रस्ताव राख्दा समेत कुनै सहयोग भएन, उहाँले भन्नुभयो ‘गाउँपालिकाले सहयोग गरे यसलाई थप व्यवस्थित गर्दै विस्तार गर्न सकिन्छ ।’

वि.स. २०५२ सालमा ३ बिगा जमिन किराँत धार्मिक वन साकेला थानको नाममा पास गरि किराँतहरूले सो ठाउँमा आफ्नो धार्मिक कार्य गर्दै आएको छन् ।

Back to top button