बिरामीलाई दुःख दिने बिचौलियाको समूह पक्राउ

विराटनगर ।अस्पताल आएका बिरामीलाई विभिन्न बहाना देखाएर दुःख दिई ठगी गर्ने १० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तलाई भेटेर उपचार गरिरहेको अस्पतालबारे अफवाह फैलाई अर्कै अस्पतालमा लगेर कमिसन खाने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
‘विभिन्न अस्पतालमा गएर यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधि राम्रो छैन भन्ने अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर कमिसन दिने अस्पतालमा लैजानेहरूलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेठले भन्नुभयो ।

प्रहरीले सुनसरीको दुहवी–६ का ५४ वर्षीय श्रीराम चौधरी, सिरहा–२ बस्ने २० वर्षीय सुर्यनारायण यादव, मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४२ वर्षीय मो जलिद, विराटनगर महानगरपालिका बस्ने १८ वर्षीय विश्वास मण्डल, २३ वर्षीय रोशन गुप्ता, १९ वर्षीय सुजित यादव, २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समिर खान, १८ वर्षीय सरोज खान र १८ वर्षीय अमित यादवलाई पक्राउ गरेको हो।

डीएसपी श्रेष्ठका अनुसार ३ जनालाई कोशी अस्पताल र ७ जनालाई नोबेल मेडिकल कलेज छेउबाट नियन्त्रणमा लिइएको छ । केही दिनअघि मात्रै प्रहरीले न्युरो अस्पतालबाट २ जनालाई नियन्त्रणमा लिएको थियो ।

Back to top button