सभापतिका प्रत्यासी विमलेन्द्र निधीको सम्पर्क कार्यालय बानेश्वरमा, कसको कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसको १४ औं महाविधेशनको तयारीलाई तीव्रता दिएका छन् । सभापतिका प्रत्यासी निधीले सम्पर्क कार्यालय नै खोलेका छन् ।

उनले काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बैंकटमा सम्पर्क कार्यालय खोलेका हुन् । उक्त कार्यालयको शुक्रबार दिउँसो १२ः३० बजे उद्घाटन कार्यक्रम रहेको छ ।

उपसभापति निधीले सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरी पातलिएको छ । निधीले देउवालाई यसअघि आफूलाई १४ औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताएका थिए ।

तर देउवाले भने उक्त वाचा बिर्सेर महाधिवेशनमा जो पनि उम्मेदवार हुन सक्ने भन्दै फेरि पनि सभापतिका लागि आफू पछाडि नहट्ने बताएका थिए । त्यसपछि निधीले आफू सभापतिमा जसरी पनि लड्ने भन्दै तयारीलाई तीव्रता दिएका छन् ।

महेन्द्रनारायण निधीका पुत्र विमलेन्द्रले जननायक वीपी कोइराला पुत्र एवं कांग्रेस महामन्त्री डा. शशांक कोइराला तथा लौहपुरुष गणेशमान सिंहका पुत्र एवं कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग पनि चुनावी तालमेलका लागि छलफल गरिसकेका छन् ।

यसपालि सभापतिका प्रत्यासी धेरै देखिएका छन् । उनीहरुले सम्पर्क कार्यालय खोलिसकेका छन् । १३ औं महाधिवेशनका सभापतिमा उम्मेदवार कृष्ण सिटौलाले गौशालामा, महामन्त्री डा. शशांक कोइरालाले महाराजगञ्जमा, वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा, प्रकाशमान सिंहले बानेश्वरमा तथा केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अनामनगर र विशालनगरमा सम्पर्क कार्यालय खोलिसकेका छन् ।

दोस्रो पटक सभापति बन्ने योजनाका साथ अगाडि बढेका देउवाको सम्पर्क कार्यालय पार्टी मुख्यालय वीपीनगरमै रहेको छ ।

मंसिरमा काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि यही भदौ १८ गतेदेखि स्थानीय तहदेखि महाधिवेशन कार्यक्रम शुरु हुँदैछ । तर जिल्ला सभापतिहरु कांग्रेस मुख्यालय वीपीनगर बल्खुमा गत बुधबारदेखि रिले अनसनमा रहेकाले निर्धारित मितिमै महाधिवेशनको कार्यक्रम शुरु हुनेमा आशंका व्यक्त गरिएको छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले संस्थापनले विभिन्न जिल्लामा घोटाला गरेको आरोप लगाउँदै आएका छन् ।

Back to top button