माधव नेपाल पक्षले बनाएका समानान्तर कमिटीहरू नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण गरिदै

विराटनगर । नेकपा एमालेमा हुँदा माधव नेपाल पक्षले बनाएका समानान्तर कमिटीहरू अब नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण गर्न थालिएको छ । गरिने भएको छ ।

दुई जिल्लासहित महानगर कमिटी समाजवादीका रुपान्तरण गरिसकिएको छ ।

एमालेमा हुँदा समानान्तर गतिविधि गरिरहेका झापा, मोरङ र विराटनगर महानगर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण गरिएको हो ।

मोरङमा चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो ।

नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा भएको बेला मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य महेश रेग्मीका अनुसार प्रदेश १ मा ८ जिल्लामा समानान्तर कमिटी बनेका थिए ।

भोजपुर, इलाम, पाँचथर झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा समानान्तर कमिटी भएको र तिनै कमिटीलाई समाजवादीमा रुपान्तरण गरिने उहाँको भनाई रहेको छ ।

माधव नेपाल पक्षका नेताहरूको नेतृत्व रहेको जिल्लामा भने समानान्तर कमिटी बनेका थिएनन् । ६ जिल्लामा माधव नेपाल पक्षका नेताहरूको वर्चश्व थियो । तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, उदयपुर, खोटाङ र सुनसरीमा भने कमिटी बनेका थिएनन् ।

माधव नेपाल पक्षका जिल्ला अध्यक्षसमेत रहेका दुई प्रदेश सांसदहरू मन्त्री नै बनिसक्नु भएको छ ।
तेह्रथुमका अध्यक्ष लछुमन तिवारी र ताप्लेजुङका अध्यक्ष बलबहादुर सामसुहाङ एमालेमै रहेपछि मन्त्री बन्नु भएको हो ।

तिवारी उद्योग वन पर्यटन मन्त्री बनेका छन् भने सामसुहाङ सामाजिक विकास मन्त्री बनिसक्नु भएको छ ।

अहिलेसम्म पनि केही जिल्लाका जिल्ला अध्यक्षहरू खुलिनसकेको एमाले प्रदेश १ का सचिव विनोद ढकालले बताउनु भयो ।

वडा तहसम्म बनाइएका कमिटीहरूलाई रुपान्तरण गरिने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईको भनाई रहेको छ ।

Back to top button