नेकपा एकिकृत समाजवादीले होटल बुक गरेर प्रदेश सांसद रिझाउँदै

विराटनगर । नेकपा एकिकृत समाजवादीले प्रदेश १ का प्रदेश सांसदहरुलाई रिझाउन विराटनगरस्थित महंगो होटेल बुक गरेको छ । प्रदेश सांसदहरुलाई दैनिक १३ हजार पर्ने बिग होटलको सुइट डिलक्स रुममा राखेर शुक्रबारदेखि ८४ व्यन्जन भोजन गराइरहेको हो ।

एकिकृत समाजवादीले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका लागि त्यही महंगो होटलमा बसेर योजना, नीति तथा रणनीति बनाइरहेका छन् । एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले आफ्नो पार्टीमा संगठित भएका १० जना प्रदेश सांसद तथा पार्टीका नेताहरुलाई सुइट डिलक्स रुममा राख्दै आउनु भएको हो ।

एकिकृत समाजवादीमा संगठित भएका प्रदेश सांसदहरुलाई एमालेले नफकाओस भने आपूmसँगै राईले होटलमा राख्नु भएको हो । प्रदेश सांसद राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ्ग, खिनु लङ्बा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्रीकुमारी रेग्मी र उपेन्द्र घिमिरेका लागि होटेल बुक गर्नुभएको छ ।

उहाँहरुको सुरक्षामा विराटनगरमा ग्याङ् चलाउने विद्यार्थी नेता वासिम आलम आफै खटिनुभएको छ । आलमले नै प्रदेश सांसदहरुसँग जोसुकैको भेटघाटको अनुमति दिने गरेको हो । होटलमा बसेका प्रदेश सांसदहरुलाई आलमले सुरक्षा घेरा बनाएर कडा निगरानीमा राख्नु भएको छ ।

आलमको अनुमतिबिना पत्रकारले समेत होटलमा बस्नुभएका प्रदेश सांसदहरुलाई भेट्न पाउँदैनन् । आलमले अनुमति दिएपछि मात्रै प्रदेश सांसदहरु पत्रकारसँग भेटेर उहाँकै उपस्थितिमा सवाल जावफ गराउने गरेको पाइयो ।

राईले कोही नबुझ्ने नभएकाले कसैलाई होटलमा बन्द गरेर नहुने बताउनुभयो । उहाँले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई भदौ महिना कटाउन नदिने योजनाका साथ गठबन्धनको सरकार बनाउने तयारीमा लागेको बताउनुभयो । राईले अहिलेसम्ममा एकिकृत समाजवादीमा १० जना सांसद संगठित भएको तर यसलाई १५ पुर्‍याउने बताउनुभयो ।

होटलमा नै बसेर राईले मंगलबार निर्वाचन आयोग प्रदेश कार्यालयमा संगठित रुपमा नै सनाखत गर्न जाने बताउनुभयो । सनाखत भएपछिको प्रक्रिया निर्वाचन आयोगले पूरा गरेपछि गठबन्धनको सरकार बनाउने प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।

आयोगले प्रक्रिया पूरा गरेपछि एक पटक औपचारिक रुपमा मुख्यमन्त्री आचार्यसँग छलफल गरेर सदनबाट विश्वासको मत लिन आग्रह गर्ने उहाँको भनाई छ । आचार्यले विश्वासको मत लिन आनाकानी गरेको अवस्थामा विशेष अधिवेशनको माग गरी अविश्वासको प्रस्ताव दर्ता गराउने उहाँले बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले पनि आफ्नो नेतृत्वको सरकार टिकाउन जोडबल लगाइरहनु भएको छ । उहाँले पनि आफू निकट मानिने प्रदेश सांसदहरुलाई सघाउन आग्रह गरिरहनु भएको छ । उहाँले पनि जसरी पनि बहुमत कायम राखेर सदनबाट विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १÷१ जना छन् ।

Back to top button