नेकपा एकिकृत समाजवादीमा सांसद जोड्दै माओवादी केन्द्रका नेता आङ्बो

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नका लागि माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा (एकिकृत समाजवादी) मा एमालेबाट प्रदेश सांसद तानेर जोड्न निकै जोडबल लगाइरहनु भएको छ ।

नेता आङ्बोले एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईलाई मुख्यमन्त्री बनाउन अघि सार्नेदेखि एमालेका सांसदलाई उहाँको पक्षमा रहन सुरुदेखि नै पहल गर्दै आउनु भएको हो ।

नेता आङ्बो र प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसको पहलमा राजेन्द्रकुमारले प्रदेश सांसदहरुलाई रिझाउन विराटनगरस्थित बिग होटल बुक गरेको एक नेताले बताउनुभयो ।

एकिकृत समाजवादीमा खुलेकी इलामकी प्रदेश सांसद खिनु लङ्बा लिम्बूलाई आचार्य नेतृत्वको सरकारमा मन्त्री बन्न जान नदिई बिग होटलसम्म ल्याउन नेता आङ्बोले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको एकिकृत समाजवादी मोरङका प्रवक्ता वसिम आलमले बताउनुभयो ।

सबैको सहयोगले एकिकृत समाजवादी पार्टी मुलुकमा निर्माण भएको बताउँदै आलमले पार्टीप्रति शुभेक्षा राख्नेहरुको सहयोग र सदभाव अपेक्षित रहेको बताउनुभयो । अझ एकिकृत समाजवादी भित्र तय हुने रणनिती निर्माणका लागि समेत नेता आङ्बोको भूमिका सक्रियता पूर्वक रहने गरेको स्रोतको दावी छ ।

माओवादी केन्द्रका यहाँका नेताहरुको भूमिका हेर्दा एकिकृत समाजवादी सहयात्री नै भए जस्तो आभाष भएपनि यो दिर्घकाल नरहेने प्रायः निश्चित छ ।

तत्काललाई मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढाल्नलाई एकिकृत समाजवादी सहयात्री भए पनि भोलीका दिनमा राजनीतिक प्रतिष्पर्धि नै हो । तर अहिले एकिकृत समाजवादीका प्रदेश सांसदहरुलाई संगठित गर्नेदेखि बिभिन्न छलफल र बैठक माओवादी केन्द्रका प्रदेश सांसदको उपस्थितिमा नै भइरहेको एक नेताले बताउनुभयो ।

एकिकृत समाजवादीको हरेक गतिविधि र रणनीति सुरुदेखि नै माओवादीले आफ्नो रणनीति अनुसार अघि बढाइरहेकोले जनअपेक्षा अनुसार समाजवादीको मौलिकता प्रदेश १ मा नरहने हो की भन्ने तर्क समेत राजनीतिक विश्लेषकहरुबाट हुने गरेको छ ।

कुनैपनि राजनीतिक दलको आफ्ना योजना, नीति तथा रणनीति, कार्यनीति गोप्य तरिकाले अरु राजनीतिक दललाई जानकारी नदिई अघि बढाउनु पर्ने अवस्थामा एकिकृत समाजवादीको हरेक योजना, नीति तथा कार्यनीति माओवादी केन्द्रका नेताहरुका अनुसार अघि बढ्नु दुर्भाग्य भएको राजनीतिक विश्लेषकहरुको भनाई छ । एकिकृत समाजवादीको रणनिती तयारमा अन्यदलको हस्तक्षेपको बिषयमा प्रदेश सांसद राजेन्द्रकुमार राई भने मौन रहनुभएको छ ।

नेता आङबोले असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको आचार्य नेतृत्वको सरकार कुनैपनि सर्त टिक्न नदिने र ढालेरै छोड्ने रणनीतिका साथ अघि बढेको सञ्चारमाध्यमहरुमा प्रतिक्रिया दिदै आउनुभएको छ ।

एकिकृत समाजवादी भित्र कुनै अंकगणितमा फेरबदल आउन नदिन नेता आङ्बोको सक्रियता निकै देखिन्छ । यहाँ सम्मकि एकिकृत समाजवादीका सांसदहरुको बैठकमा आफु सहभागी हुन नसक्दा आफ्नै पार्टीका अरु कसैलाई सहभागि हुन लगाउने गरेको पाइएको छ ।

एकिकृत समाजवादीका प्रदेश सांसदहरुको आइतबारको बैठकमा नेता आङ्बो उपस्थिति हुन नसकेपछि उहाँले आफ्ना पार्टीका प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठलाई काठमाडौंबाट बोलाएर बैठकमा सहभागी गराउनुभएको थियो । श्रेष्ठले आफू काठमाडौंबाट बिग होटलमा बस्न आएको स्विकार्नुभएको छ ।

Back to top button