एकिकृत समाजवादीको आन्तरिक बिषयमा हस्तक्षेप नगरेको सन्देश दिन आङ्बोको प्रतिकृया ‘म एकान्ततिर छु’

विराटनगर । नेकपा एकिकृत समाजवादी (एस) को आन्तरिक विषयमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आउनुभएका नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलको नेता इन्द्र आङ्बोले आज एकाएक आफू विराटनगर बाहिर रहेको सन्देश दिनुभएको छ ।

कोशी सन्देशमा ‘नेकपा एकिकृत समाजवादीमा सांसद जोड्दै माओवादी केन्द्रका नेता आङ्बो’ शिर्षकमा  समाचार प्रकाशन भएपछि उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘कहाँ भिडमा खोज्नु भा, म त सुनसान र एकान्त तिर पो छु त… ।’

एउटा ढुङ्गामा एक्लै बसेको तस्वीरसहित सामाजिक सञ्जालमा आफु एकान्तमा रहेको सन्देश दिनुभएका नेता आङ्बोले होटल बिगमा बसेका एसका प्रदेश सांसदहरुको प्रत्यक्ष निगरानी गर्न माओवादी केन्द्रकी प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठलाई खटाउनुभएको छ । श्रेष्ठले संसदीय दलका नेता आङ्बोको निर्देशन बमोजिम भूमिका निर्वाह गर्दै आउनुभएको स्रोतको दावी छ ।

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेसँगै उहाँको सरकार ढाल्नका लागि योजनाबद्ध रुपमा सक्रिय हुनुभएको छ ।

एसको प्रदेश सांसदको संख्या घट्न नदिन कसरत गर्दै आउनुभएका नेता आङ्बोले निर्वाचन आयोगमा सनाखत नभएसम्म एसका १० जना एकै ठाउँमा बस्नुपर्नेमा जोड दिदै आउनुभएको छ ।

Back to top button