प्रदेश १ मा सरकारको नेतृत्व कांग्रेसले गर्ने

विराटनगर । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले आफ्नै नेतृत्वमा सरकार गठन हुने भन्दै एमालेका सांसद फकाइरहनुभएको बेला कांग्रेसले सरकारमा दावी गरेको छ । एकिकृत समाजवादीमा १० जना प्रदेश सांसद संगठित भएको र मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै गठबन्धन दलले प्रदेश सरकारको दावी गर्न थालेका छन् ।

प्रदेश १ मा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रदेश सांसदहरुले दावी गर्नुभएको हो । प्रदेश प्रमुख एकिकृत समाजवादीले लिएपछि प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसलाई बाटो खुलेको उहाँहरुको भनाई छ ।

कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले गठबन्धनभित्र अहिले नै प्रदेश सरकारको नेतृत्व कसले गर्ने बारे टुंगो लगाइहाल्ने बेला आइनसकेको बताउनुभयो । उहाँले यस प्रदेशमा गठबन्धनको सरकारका गठन भएपछि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेका कांग्रेस बाहेक कसको नेतृत्वमा सरकार बन्छ र भन्दै प्रतिप्रश्न गर्नुभयो ।

‘तर अहिले नै सरकारको नेतृत्वको विषयलाई अल्झिने कुरो हुँदैन,’ उनले भने, ‘पहिले निर्वाचन आयोगको कार्यालयमा गएर सनाखत गरी एमाले छोडेर कति जना एकिकृत समाजवादीमा आउँनुहुन्छ त्यसपछि सरकारको गठनको अंक गणित सुरु हुन्छ ।’

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले गठबन्धनको सरकारमा कांग्रेसले नेतृत्व छोड्ने विषय नै उठाउनु गलत भएको बताउनुहुन्छ । उहाँले प्रमुख प्रतिपक्षी जहिले पनि सकारको लागि पहलिो हकदार हुने भएकोले यो प्रश्न उठ्नु अनुचित भएको बताउनुभयो । तर यो विषयमा गठबन्धनभित्र पनि छलफल आवश्यक भएकोले छलफलपछि मात्रै अन्तिम निष्कर्षमा पुग्ने उहाँको भनाई थियो ।

यता, एकिकृत समाजवादीका केन्द्रीय सदस्य राईले आफ्नै नेतृत्वमा सरकार बन्ने भन्दै एमालेका प्रदेश सांसदहरुलाई फकाइरहनुभएको छ । उहाँले एकिकृत समाजवादीले ठूलो जोखिम मोलेर अनेकौं कठिन परिस्थिति पार गर्दै आएकोले कांग्रेसले प्रदेश सरकारको नेतृत्व आफूहरुलाई नै दिने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि राई कै नेतृत्वमा गठबन्धनको सरकार गठनका लागि पहल थाल्नु भएको छ । सुरुमा एकिकृत समाजवादीमा प्रदेश सांसद तान्नलाई आङ्बोले सरकारको नेतृत्वको अभियान सुरु गर्नुभएको थियो ।

तर अहिले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमत पर्ने निश्चित भएपछि कांग्रेसको नेतृत्वमा सरकार गठन भए आफू कमजोर हुने भएको विशलेषणसहित आङ्बोले राईको नेतृत्वमा सरकार गठनका लागि जोडबल लगाउन थाल्नुभएको हो ।

कांग्रेसभित्र रहेका पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इत्तर समूहमा अहिले आङ्बोले खेलिरहनु भएको छ । आङ्बोले देउवा समूहका प्रदेश सांसद तथा नेताहरुलाई संस्थापन इत्तर समूहका संसदीय दलका नेता राजिव कोइरालालाई मुख्यमन्त्री बनाउन नहुने भन्दै पहल गरिरहेको एक नेताले बताउनुभयो ।

यसका लागि आङ्बोले देउवा समूहका कांग्रेसका उपनेता, हिमाल कार्की, सचेतक सूयर्माराज राई, प्रदेश सांसद शेखरचन्द्र थापा, प्रकाशप्रताप हाङ्गामलाई उचालेर कोइरालाको विरुद्धमा लाग्न जोडबल लगाइरहनु भएको छ । यता देउवा समूहका कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, मन्त्री ज्ञानेन्द्रकुमार कार्की र नेता बिजयकुमार गच्छदार कहाँ समेत कोइरालाविरुद्धमा पहल थाल्नु भएको हो ।

यसले कांग्रेसभित्र नै अन्तरद्वन्द्व हुने परिस्थिति निर्माण गरेर नेता कोइरालालाई मुख्यमन्त्री बन्न नदिने षडयन्त्र भइरहेको प्रमुख सचेतक कार्कीले स्विकार्नुभयो । उहाँले जसले जस्तोसुकै षडयन्त्र गरे पनि नेता कोइराला गठबन्धन सरकारको नेतृत्वबाट पछि नहट्ने बताउनुभयो ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद हुनुहुन्छ ।

Back to top button