काठमाडौं उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर आज देखि उठाइने

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोलका स्थानीयबीच मंगलबार भएको १४ बुँदे सहमतिअनुसार फोहोर व्यवस्थापनको अवरोध हटाई उपत्यकामा रहेको फोहोरलाई सिसडोलमा व्यवस्थापन गर्ने सहमति भएको हो ।

महागरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी वडा –१ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसहित संलग्न बैठकले विभिन्न १४ बुँदे सहमतिमा गर्दै फोहोर ढुवानीमा भएको अवरोध हटाउँदै फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । सहमतिअनुसार अब स्थानीयले फोहोर ढुवानीमा अवरोध सिर्जना गर्नेछैनन् र उपत्यकाको फोहोर व्यवस्थापन हुनेछ ।

यसअघि महानगरपालिकासँग गरिएको १७ बुँदे सम्झौता पनि कार्यान्वयन गर्ने सहमति भएको प्रमुख श्रेष्ठले बताउनु भयो । । सहमतिमा तीनपिप्ले–सिसडोल सडक तत्काल १५ दिनभित्रमा ग्राभेल गरिने र त्यसपश्चात् टेण्डर प्रक्रियामा गई कालोपत्र गरिने, फोहोर ढुवानी गर्ने गाडीको लिचेड बक्सको व्यवस्था गर्नुपर्ने र तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न नपाउने तथा ओभरलोड ढुवानी गर्न नदिने, फोहोर ढुवानी गर्ने गाडीलाई टाइम कार्ड र बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा मात्र आउजाउ गर्न दिने, बाटोमा खसेको फोहोरलाई व्यवस्थापन गर्न गाडीको व्यवस्थापन गर्ने बुँदा रहेका छन् ।

सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर उठाइने भएको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलबारको बैठकले बल प्रयोग गरेर भए पनि फोहोर उठाउने निर्णय गरेको हो ।

Back to top button