काठमाडौं ।अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर ११६ जनाको मृत्यु भएको छ ।
गत जेठ ३० गतेदेखि शुक्रवार दिउँसोसम्म ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिकाको मृत्यु भएको हो ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीपहिरोमा परेका १ हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी उनीहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण ३ हजार १८२ वटा घर डुबानमा परेका छन् । ९७८ वटा घर, १६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ३०३ वटा पशु चौपाया मरेका छन् ।
उक्त अवधिमा भएका जम्मा १ हजार ३४५ वटा विपद्का घटनाबाट १ हजार २६९ वटा घर परिवारका ६ हजार १११ जना मानिस विस्थापित भएका छन् ।