मोरङमा क्रियाशील सदस्यता विवादले वडाअधिवेशन अनिश्चित बन्दै

विराटनगर । प्रदेश १ स्थित १४ जिल्लामध्ये मोरङबाहेकका १३ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झिएर नामाबली प्रकाशन भइसकेकाले शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । तर मोरङमा देखिएको क्रियाशील विवाद अझै समाधान नभएकाले वडा अधिवेशन अनिश्चित बन्दै गएको हो ।

क्रियाशील सदस्यता नामावली प्रकाशन भइसकेका १३ जिल्लामध्ये केहीमा शुक्रबार नै वडा अधिवेशन सम्पन्न भइसकेको छ भने केहीमा प्रक्रिया सुरु गरिएको छ । नेपाली कांग्रेसले प्रदेश १ का विवाद मिलिसकेका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र झापा जिल्लाको क्रियाशील सदस्यता भदौ १० गते पहिलो चरणमा सार्वजनिक गरेको थियो ।

दोस्रो चरणमा भदौ ११ गते धनकुटा र भोजपुर तथा भदौ १५ गते तेस्रो चरणमा सुनसरी जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएर नामावली सार्वजनिक गरिएको छ । नामावली टुंगिएका उदयपुर लगायतका जिल्लामा शुक्रबारदेखि वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गरिएको छ ।

कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले पालिका अधिवेशनको कार्यतालिका अनुसार वडा अधिवेशनसम्मको काम सम्पन्न गर्न मिल्नेगरी निर्णय गर्न केन्द्रीय समितिलाई आग्रह गरे पनि हालसम्म परिणाम नदेखिएको गुनासो पोख्नुभयो । ‘बैठक बसेर निर्णय गर्ने भनेको छ, क्रियाशील सदस्यताको विवाद टुंगिन अझै एक हप्ता जति लाग्न सक्ने देखिएको छ,’ सभापति लिम्बुले भन्नुभयो, ‘कुनै जिल्लामा शुक्रबारबाट वडा अधिवेशन सुरु भयो, कुनैमा शनिबारदेखि गर्दैछन्, यहाँ भने अब त दोस्रो वा तेस्रो चरणमा जान्छ जस्तो लाग्छ ।’

Back to top button