प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीले नेकपा (एकिकृत समाजवादी) रोजे विश्वासको मत दिन्छौं : नेतृ झाँक्री

विराटनगर । नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशकी मुख्यमन्त्रीले एकिकृत समाजवादी रोजे प्रदेशसभामा विश्वसको मत दिने बताउनुभएको छ ।

‘प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भदौ २२ गतेसम्ममा एकिकृत समाजवादी नरोजेको अवस्थामा अल्पमत पर्ने र त्यसपछि प्रदेशसभामा विश्वास गुमाउने बाटो बाटै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानी गर्दै झाँक्रीले भन्नुभयो, ‘तर अहिले नै कुन प्रदेशमा गठबन्धन दलभित्रका कुन पार्टीले प्रदेश सरकारको नेतृत्व गर्ने निर्णय भइसकेको छैन ।’

प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने अधिकार भएकोले त्यसपछि नै प्रदेश सरकार गठन र केन्द्र सरकार विस्तारको प्रक्रिया सुरु हुने झाँक्रीले बताउनुभयो । उहाँले आफूहरुको दल अझै बन्ने क्रममा नै रहेकोले सरकारमा सहभागी हुन अझै निर्णय गरिनसकेको बताउनुभयो ।

झाँक्रीले बजारमा चलेको हल्ला जस्तो गठबन्धन टुट्ने वा भत्किने अवस्था नरहेको बताउनुभयो । ‘प्रतिनिधिसभाको पूरा कार्यकाल सञ्चालन गर्न, अहिलेसम्मका प्राप्त उपलब्धी संस्थागत गर्न, संविधान पूर्णरुपमा कार्यान्वयनका लागि अहिलेको गठबन्धन दलको सरकार गठन भएको छ,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धनको सरकार आउँदो निर्वाचन गराउनसम्मका लागि बनेकोले बजारमा चलेको गठबन्धन टुट्ने हल्ला निराधार हो ।’

प्रतिनिधिसभामा कतिपय बिजनेसहरु प्रतिपक्षीसँग पनि सहकार्य गरेर ल्याउनु पर्ने भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुराकानी गर्दैमा गठबन्धन टुट्ने आशंका गर्नु अनुचित भएको उहाँको भनाई थियो ।

Back to top button