मन्त्रालयका सचिवहरुलाई जनताको मन जित्ने गरी काम गर्न मुख्यमन्त्रीको कडा निर्देशन

विराटनगर । मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशका मन्त्रालयका सचिवहरु र विभागीय प्रमुखहरुलाई जनताको मन जित्ने गरी सरल र सहज तरिकाले बिना झन्झटिलो तरिकाले चुस्तदुरुस्त तबरे काम गर्न कडा निर्देशन दिनुभएको छ ।

मन्त्रालयहरुको काममा ढिलासुस्ती हुने गरेकाले जनताले दुःख पाइरहेको हुँदा विकास निर्माणका योजना, अड्किएका ठेक्का सम्झौता तत्काल कार्यन्वयन गर्न निर्देशन दिनुभएको हो । उहाँले जनताको कामलाई केन्द्रविन्दुमा राखेर सबै कार्यालय प्रमुखहरुलाई काम गर्न निर्देशन दिनु भएको छ ।

‘सबै साथीहरुले मिहिनेत गरिरहनु भएको छ तर गरेको मिहिनेत परिणाममुखी हुन नसकिरहेकोले कामलाई परिणाममुखी बनाउनुहोस् ।’ उहाँले भन्नुभयो ‘नियम, ऐनले बाधा भएका योजनाहरु, कार्यक्रमहरु भए तत्काल प्रमुख सचिवसँग समन्वय गरेर समाधान गरी काममा तिब्रता दिनुहोस् ।’

मुख्यमन्त्री आचार्यले दैनिक कार्ययोजना बनाएर परिमाणमुखी काम गर्न प्रदेशका सबै कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले मन्त्रालय, विभाग अन्तर्गतका आफ्ना कार्यालयका कर्मचारीहरुलाई राखेर छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन जारी गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुखहरुलाई निर्देशन दिनु भएको हो ।

छलफलमा प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन अनुसार काम कारवाही अगाडि बढाउन निर्देशन दिनुभयो ।

Back to top button