परमादेशको सरकार र अध्यादेशको पार्टी लोकतन्त्रको उपहास : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले परमादेशको सरकार र अध्यादेशको पार्टी लोकतन्त्रको उपहास भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार र राजनीतिक दलसम्बन्धी अध्यादेशपछि दर्ता भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लोकतन्त्र कै उपहासको संज्ञा दिनुभएको हो ।

यसरी बनेको सरकार र पार्टी दुवैले लोकतन्त्रलाई नै संकटमा पार्ने भन्दै उहाँले लोकतन्त्रलाई जोगाउन चुनाव नै सुरक्षित उपाय भएको उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनका लागि जुट्न आग्रह समेत गर्नुभएको छ ।

‘परमादेशको सरकार र अध्यादेशको पार्टी लोकतन्त्रको उपहास हो । यी दुवैले सुरु गरेको विकृति र विसंगतिबाट लोकतन्त्र नै संकटमा पर्दैछ। त्यसबाट लोकतन्त्रलाई जोगाउन चुनाव नै सबैभन्दा सुरक्षित उपाय हो । त्यसैले अहिले देखि तयारीमा जुटौँ ।’

यस्तै, लोकतान्त्रिक राज्य शक्तिको निर्माण जनताको जनादेशबाट हुने उल्लेख गर्दै उहाँले राज्यले पनि कानुन अनुसार राज्य शक्तिको प्रयोग गर्ने बताउनुभएको छ । उहाँले फेरी लेख्नुभएको छ,‘लोकतान्त्रिक राज्य शक्तिको निर्माण जनताको जनादेशबाट हुन्छ। त्यस्तो राज्यले पनि कानुन अनुसार राज्य शक्तिको प्रयोग गर्दछ’ ।

Back to top button