मोरङमा एमालेका ३४३ जनप्रतिनिधि मध्ये ८ जनाले रोजे एकिकृत समाजवादी

विराटनगर । नेकपा एमालेबाट चुनाव जितेका मोरङका स्थानीयतहका ३ सय ४३ जना जनप्रतिनिधि ८ जनाले मात्र एकिकृत समाजवादी रोजेका छन् । आजसम्म ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्यले मात्र एकिकृत समाजवादीका लागि सनाखत गराएका हुन् ।

यसअघि नेकपा एमालेभित्र माधवकुमार नेपाल निकट मानिने मोरङका दुई नगरपालिकाका मेयरले समेत एमालेमै रहने निर्णय गर्नुभएको छ ।

पार्टीभित्रको आन्तरिक संघर्षका बेला माधवकुमार नेपाललाई साथ दिनुभएका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र पथरीशनिश्चरे नगरपालिकाका मेयर किशोर राई दिलिपले पार्टी नै विभाजन गरेर हिडेपछि नेपालको साथ छाड्नु भएको हो ।

उहाँहरुले दल सनाखत नगरि एमालेमै बस्ने निर्णय गर्नुभएको हो । यस्तै केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेलले पनि एमालेमै बस्ने निर्णय लिनुभएको छ ।

नेकपा एमाले विभाजनपछि नयाँ दल रोज्नका लागि आजसम्मको समय दिइएको थियो । प्रदेश १ का १० जना प्रदेश सांसदले भने यसअघि नै एकिकृत समाजवादी रोज्नुभएको छ ।

Back to top button