हिरासतमा मृत्यु भएको विरोधमा प्रदर्शन : जिल्ला प्रशासनद्धारा छानबिन समिति गठन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमै थुनुवाको मृत्यु भएको आक्रोशमा आफन्तले प्रदर्शन गरेका छन् । विराटनगर ११ का भीम कामतको आइतबार हिरासतमै मृत्यु भएको थियो ।

कामतका आफन्तले लाठि र फलामका रड सहित विराटनगरको भठ्ठीमोडमा चक्काजाम गरेका थिए । प्रहरीले चक्काजाम खुलाउन खोज्दा केहीबेर स्थिति तनाबग्रस्त बन्यो ।

मृतकका आफन्तले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गर्दै भीडलाई तितरबितर पारेको थियो । पिडित परिवारले प्रहरीको यातनाका कारण मृत्यु भएको आरोप लगाउँदै दोषिलाई कारवाहि र पिडित परिवारलाई क्षतिपूर्तिको माग राखेका छन् ।

यसैबिच जिल्ला प्रशासन कार्यालय मोरङले छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, विराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, वडा १२ का अध्यक्ष हिरालाल कामत र मृतकका छिमेकी विरेन्द्रकुमार कार्कीसहितको ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले घटनाको छानबिन गर्न समिति गठन गरेको जानकारी दिँदै मृतकको परिवारलाई क्षतिपुर्तिका लागि समेत गृहमन्त्रालयलमा सिफारिस गरि पठाइएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कामतलाई गत शुक्रबार साढे ३ किलो गाँजासहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुशार कामत लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध नपाएपछि आइतबार होहल्ला गर्दै बिरामी भएपछि कोशी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उपरिक्षक जिसीले बताउनुभयो ।

यता पिडित परिवारले भने शरिरभरि निलडाम रहेकाले यातनाका कारण मृत्यु भएको दावी गर्दै आएको छ । पिडित परिवारले सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान राखेपछि प्रशासनले छानबिन समिति गठन गरेको हो ।

घटनाको सम्बन्धमा सत्यतथ्य बाहिर नआए पुनः आन्दोलनमा उत्रने चेतावनी पिडित परिवारले दिएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीले घटनामा दोषि ठहरिए कारवाहि हुने प्रतिकृया दिनुभएको छ ।

Back to top button