प्रदेश १ का १८२ जना जनप्रतिनिधिले रोजे एस, एमाले छाड्नेमा वडासदस्य बढी

विराटनगर । निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा आजसम्ममा नेकपा एमालेबाट समाजवादीतर्फ लाग्ने प्रदेश १ भरीबाट १८२ जना भएका छन् ।

प्रदेशका १४ वटै जिल्लाका एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये १८२ जनाले एकिकृत समाजवादीमा सनाखत गराएका हुन् । सनाखत गराउनेमा अधिकांश वडासदस्यहरु रहेका छन् । जिल्लागत तथ्याङ्क हेर्दा सवैभन्दा बढी इलामका जनप्रतिनिधिहरुले एस रोजेका छन् भने सोलुखुम्बुमा एस रोज्ने कोहि भएनन् ।

प्रदेशबाट एमालेले जितेका ६७ प्रमुख तथा अध्यक्ष मध्ये ५ जनाले मात्रै एकिकृत समाजवादी रोजेका छन् । यस्तै ८१ उपप्रमुख तथा उपाध्यक्षमध्ये ५ र वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्य १ सय ५५ जनाले एकिकृत समाजवादी रोजेका छन् ।

ति मध्ये प्रदेशका एमाले नेतृत्वका २७ वटा नगरपालिकाका प्रमुखहरुमध्ये इलामको सूर्योदय नगर प्रमुख रणबहादुर राई र उदयपुरको त्रियुगा नगर प्रमुख बलदेब चौधरीले मात्र एकिकृत समाजवादी रोज्दै सनाखत गराउनुभएको छ ।

एमालेबाट ३९ वटा गाउँपालिकामा निर्वाचित भएका अध्यक्षहरुमध्ये उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इलामको माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले मात्र एकिकृत समाजवादी रोज्नुभएको छ ।
यसैगरि ३७ वटा नगरपालिकामा निर्वाचित एमालेका उपप्रमुखहरुमध्ये भोजपुर र संखुवासभाबाट १/१ र एमालेबाट निर्वाचित ४२ गाउँपालिकाका उपाध्यक्षहरु मध्येबाट भोजपुरको १ र ताप्लेजुङका २ जना ले मात्र एकिकृत समाजवादीमा सनाखत गराउनुभएको छ ।

यस्तै प्रदेशका जिल्ला समन्वय समिति खोटाङ ,संखुवासभाकाका प्रमुख र ताप्लेजुङ, इलाम र धनकुटाका जिसस उपप्रमुखहरुले एकिकृत समाजवादी रोज्नुभएको छ । यसको अलावा अधिकांश वडासदस्य र केहि केहि वडाअध्यक्ष गरि जम्मा १८२ जनाले एकिकृत समाजवादी रोज्नुभएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

Back to top button