शीर्ष नेतालाई भेटेर युवा संघका असन्तुष्ट पदाधिकारीले भने-व्यक्तिवाद हावी भयो (ध्यानाकर्षण पत्र सहित )

काठमाडौं । नेकपा एमाले आबद्ध राष्ट्रिय युवा संघ नेपालको विघटित केन्द्रीय कमिटीका १४ जना पदाधिकारीहरुले संगठनमा व्यक्तिवाद हावी भएर निजी कम्पनीका रुपमा आयोजक कमिटी घोषणा गरिएको भन्दै लिखित असहमति दर्ज गरेका छन् ।

हालै पोखरामा सम्पन्न सचिवालय बैठकलाई एकाएक आयोजक कमिटी बैठकमा परिणत गरि केही व्यक्तिले पहिले नै तय गरेका नामवली पढेर आयोजक कमिटी गठन गर्न लागिएपछि आफूहरुले बहिस्कार गरेर काठमाडौं आएको उनीहरुले शीर्ष नेतृत्वलाई जानकारी गराएका छन् ।

१३ सय ५२ सदस्यीय केन्द्रीय कमिटी भंग गरी ४ सय १९ सदस्यीय सचिवालयलाई नै आयोजक कमिटी बनाएर फागुन ११ मा महाधिवेशन गर्ने सहमतिविपरित आफूखुसी मान्छे राख्ने र हटाउने काम गरिएको भन्दै उनीहरुले पोखरामा घोषित आयोजक समितिलाई नमान्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

हाल १३ सदस्यीय कार्यालय सदस्य रहेका तथा विघटित कमिटीका उपाध्यक्ष अमित लामा, उर्मिला सुनुवारसहित १४ जना पूर्व पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई लिखित ध्यानाकर्षण बुझाएका छन् ।

ध्यानाकर्षण बुझ्दै अध्यक्ष ओली र बरिष्ठ उपाध्यक्ष पोखरेलले युवा संघ इन्चार्ज महेश बस्नेतसँग जानकारी मागेको भेटका एक सहभागीले बताए । उनीहरुले ४ सय १९ सदस्यीय सचिवालय कमिटी नै नवौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको दावी गरेका छन् ।

पार्टीका मुख्य नेताहरुलाई भेटेर अशन्तुष्ट पक्षले युवा संघको विद्यमान सचिवालय ककमिटीलाइ नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशनको माग गरेका छन् । समयमै गलत निर्णय नसच्याए युवा संघलाई विधि, पद्धति र प्रक्रिया अनुरुप अघि बढाउन थप पाइला चाल्न बाध्य हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।

पुस २० गते पोखरामा बसेको युवा संघको सचिवालय बैठकले किरण गौतम संयोजक र सन्जिव झा तथा क्रान्ति बुर्लाकोटी सहसंयोजक रहने गरि अरु पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो ।

सोही बैठकले १३ सदस्यीय कार्यालय घोषणा गरेको थियो । तर अशन्तुष्ट पक्षले भने ४ सय १९ मध्ये १ सय ५० भन्दा कम सहभागी गणपूरक संख्याबिनाको बैठकबाट घोषित भएको कमिटी मान्यता नहुने बताएको छ ।

महाधिवेशन आयोजनाका लागि विभिन्न समितिहरु गठन गर्नुपर्नेमा जिल्ला अध्यक्ष, इन्चार्ज, प्रदेश अध्यक्ष तथा इन्चार्जहरु हटाउने तथा फेरबदल गर्ने काम भएको उनीहरुको आरोप छ । युवा संघमा फरकम मत राख्नेलाई निषध गर्ने व्यक्ति केन्द्रित समूह बनाउन खोजिएकाले आफूहरुले नेतृत्वको ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।

उनीहरुले ४ सय १९ सदस्यीय सचिवालयलाई नै आयोजक कमिटी घोषित गर्नुपर्ने र कतिपय व्यक्ति नरहेको ठाउँमा साबिक १३ सय ५२ सदस्यीय केन्द्रीय कमिटीका सिनियर र सक्रिय सदस्यलाई थपेर आयोजक कमिटी बनाइ महाधिवेशनमा जानुपर्ने माग गरेका छन् ।

आयोजक कमिटीले महाधिवेशन आयोजनाका लागि विभिन्न तयारी समिति गठन गर्नुपर्नेमा त्यसो नगरेकाले महाधिवेशन नै नहुने आशंका आफूहरुलाई भएको विघटित कमिटीका उपाध्यक्ष अमित लामाले बताए ।

यसैबीच एमाले एथायी कमिटी सदस्य तथा मोर्चा फाँटका इन्चार्ज भानुभक्त ढकालले युवा संघको समस्या समाधानका लागि पार्टीले संस्थागत निर्णय गर्ने बताएका छन् । नेता ढकालले युवा संघलाई संस्थागत ढंगले नै अगाडि बढाउनुपर्ने र त्यसका लागि पार्टीले समन्वय गर्ने बताए ।एमाले श्रोतका अनुसार विवाद समाधानपछि मात्र सर्कुलर जारी गर्न संगठन विभागले युवासंघको नेतृत्वलाई निर्देशन दिएको छ ।

आयोजक कमिटीका संयोजक परिवर्तन हुनुपर्छ- लामा

यसैबीच युवा संघका कार्यालय सदस्य तथा निवर्तमान उपाध्यक्ष अमित लामाले अहिलेको आयोजक समिति अस्वीकार्य रहेको भन्दै यो नेतृत्वबाट महाधिवेशन हुनेमा शंका रहेको वताएका छन् ।

लामाले पार्टी केन्द्रीय सदस्य रहिसकेका किरण पौडेललाई बिदा गरेर निर्विवाद व्यक्तिलाई संयोजक बनाउनुपर्ने विषय उठेको बताए । उनले युवा संघको समस्या इन्चार्ज महेश बस्नेतका कारण सृजना भएको आरोपसमेत लगाए ।

लामाले भने, ‘हामीले संकटको बेलामा पार्टी र युवा संघलाई साथ दिएका साथीहरुलाई विना जानकारी सडकमा नफालौं भनेका हौं । १३ सय ५२ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुलाई मापदण्डअनुसार आयोजक समितिमा पर्नुहुन्न उहाँहरुलाई प्रमाणपत्र दिएर बिदा गरौं र ४ सय १९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरौं भनेका हौं । ‘तर, इन्चार्ज कमरेडको अगुवाइमा केहि साथीहरु बसेर विधि पद्धति र मापदण्डविपरीत केहिलाई हटाउने र केहिलाई थप्ने काम गर्नुभयो । हामीले तत्कालै पोखरामा इन्चार्जसहित अध्यक्षसँग यो विषयमा आपत्ती जनायौं । तर, उहाँहरुले पेलेरै जान खोजेपछि हामीले तत्कालै मौखिकरुपमा पार्टीका मुख्य नेताहरुलाई जानकारी गराएर बैठक छाडेर हिडेका हौं । केन्द्रीय कमिटी बैठकको ब्यानर हटाएर एकाएक महाधिवेशन आयोजक कमिटीको ब्यानर राखियो । जवकि आयोजक कमिटीका गणपूरक संख्या पनि थिएन । त्यसैले त्यो बैठक नै अवैध हो । हामीले पार्टी अध्यक्षसहित सबै नेतालाई भेटेर लिखित जानकारी गराइसकेका छौं । अब यो विषयको निकास पार्टीले नै दिनेछ ।   – नेपाल प्रेसबाट साभार                           

Back to top button