खेलकुदको माध्यमबाट पर्यटनलाई चलायमान बनाउन सक्छौँ : महावाणिज्यदूत कार्की   

नेपाल–माेरिसस बिजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेलेको माेरिससको राष्ट्रिय फुटबललाई टोलीलाई काठमाडौंमा रात्रिभोजको आयोजना गरेको छ । उक्त रात्रिभोजमा नेपालका लागि माेरिससका अवैतनिक महावाणिज्यदूत गणेश कार्कीले खेलकुदले दुई देशको सम्बन्ध विकास गर्नुका साथै पर्यटनको विकासका साथै भाइचारा सम्बन्ध विकासकाे सन्देश प्रवाह गरेको बताए

कार्कीले भने, ‘हामीले अब खेलकुदको माध्यमबाट पर्यटनलाई चलायमान बनाउन सक्छौँ भन्ने विश्वास पनि लिएका छौँ ।’ मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेर नेपाल र माेरिससबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरेको र खेल पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अखिल नेपाल फुटबल संघ र अध्यक्ष कर्माछिरिङ शेर्पाप्रति आभार प्रकट गरे । महावाणिज्यदूत कार्कीले माेरिससको राष्ट्रिय टोलीका सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका छन् ।

यस्तै, नेपाल–माेरिसस बिजनेस काउन्सिलका अध्यक्ष बटु लामिछानेले मैत्रीपूर्ण खेलमा विजेता टोली नेपाललाई बधाई दिँदै माेरिससको टोलीले राम्रो खेल प्रदर्शन गरी नेपालीको मन जितेको भन्दै धन्यवाद व्यक्त गरे । नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको थियो । नेपाल र माेरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए । दुईवटा मैत्रीपूर्ण खेल खेलेको नेपालले १–० ले जितेको थियो ।

Back to top button