एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने

काठमाडौं । एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने नियुक्त भएका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच एएसी इँटा उद्योग प्रालिका अध्यक्ष निकोलस पाण्डेले सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् ।
ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका लामिछाने र पाण्डेबीच दुई पक्षीय हस्ताक्षरसमेत भएको छ ।
निरन्तर ६० घण्टाभन्दा बढी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व रेकर्ड कायम गरेका लामिछानेलाई ब्रान्ड एम्बेस्डरका रुपमा सहकार्य गर्न पाउँदा खुसी लागेको अध्यक्ष पाण्डेको भनाइ छ ।
एएसी इँटाप्रति आममानिसको भरोसा दिलाउन लामिछानेलाई छनौट गरिएको पाण्डेले बताए ।
‘जसरी सञ्चारकर्मी लामिछानेप्रतिको भरोेसा आमसर्वसाधारणमा छ, त्यसैगरी इँटामा पनि भरोसा दिलाउने हाम्रो उद्देश्ये हो’ अध्यक्ष पाण्डेले भने ।
निर्माण जगतमा नयाँ आयाम थप्ने योजनाका साथ २०७२ सालको भूकम्पपछि फुरेको सोचलाई उद्योगसम्म पुर्याउन सफल भएको बताउँदै यसलाई सबैले अपनत्व हुने गरी गुणस्तरमा ध्यान दिँदै आएको उनले बताए ।
यस्तै ब्रान्ड एम्बेस्डर लामिछानेले युवाहरुको सोच र जोसलाई साथ दिनका लागि यो कम्पनीसँग आबद्ध भएको बताए ।
करिब ३ बर्षको लागि ब्राण्ड एम्बेस्डरका रुपमा एएसी इँटासँग जोडिएको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्नसमेत आग्रह गरेका छन् ।
‘इँटामा कुनै समस्या आए सबैभन्दा पहिला विरोध जनाउने म हुनेछु’, उनले भने, मेरो विश्वास र भरोसालाई टुट्न दिनुहुन्न भन्ने लागेको छ ।’
साथै सञ्चारकर्मी लामिछानेले ब्रान्ड एम्बेस्डर बनेबापत पाउने पारिश्रमिक शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्घोषसमेत गरेका छन् । ‘ब्रान्ड एम्बेस्डर बनेबापत आउने रकम म व्यक्तिगत रुपमा प्रयोग गर्दिनँ’, लामिछानेले भने, ‘शिक्षा क्षेत्रका लागि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको छु । प्राप्त रकम पनि त्यहीँ दिनेछु ।’
लामिछानेले यसअघि राइनासकोट अस्पताल निर्माण गरी समूदायलाई हस्तान्तरण गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मदन खड्काले सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरको रुपमा भित्र्याउन पाउँदा खुसी लागेको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए । सर्वसाधारणसम्म इँटाको प्रयोगबारे जनचेतना फैलाउन लामिछानेलाई आबद्ध गराउँदा कम्पनीप्रतिको विश्वास पनि बढ्दै जाने उनको भनाइ छ ।
सन् २०१५ बाट सुरु भएको यो इँटा हलुका तथा वातावरणमैत्री मानिन्छ । विश्वका धेरै मुलुकमा प्रयोग भइसकेको एएसी इँटाको नेपालमा पनि ठूला भवन तथा अस्पतालहरुमा प्रयोग हुँदै आएको छ ।
पूर्णरुपमा प्राकृतिक सामग्रीहरुको मिश्रणबाट उच्च प्रविधि प्रयोग गरी बनाइने हुँदा वातावरणमैत्री हुनाका साथै जलवायु विविधताका लागि पनि उपयुक्त निर्माण सामग्री रहेको कम्पनीको भनाइ छ । बालुवा,सिमेन्ट,चुना,आल्मुनियम पाउडर र जिप्सनसँग पानीको मिश्रण गरी एरिएटेड प्र्विधिबाट पूर्णस्वचालित अटोक्लेभ्ड मेशिनबाट निर्माण हुने गरेको जनाएको छ ।
साधारण ईट्टा भन्दा एक तिहाई र आरसिसि भन्दा एक चौथाई घनत्व कम हुने हुँदा भवनको भार कम गराउने साथै भवनलाई भुकम्प जाँदा लड्ने सम्भावनालाई न्यन गराउने र ६ घण्टासम्म अग्नि वहन समेत गर्ने दाबी कम्पनीको छ ।

Back to top button