काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारीको पदबहाली

काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा वसन्त अधिकारीले पदबहाली गरेका छन् । भदौ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।

पदबहाली भएसँगै उनले प्रशासनको अभिभावकका रूपमा काम गर्ने बताए । “नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु,” प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, “वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका सिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।”

अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवा प्रवेश गरेका हुन् । २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ सालमा राष्ट्र बैंकको सेवा हुँदै २०५५ सालमा शाखा अधिकृत भएका थिए । २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव भएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गरेका छन् ।

काठमाडौं महानगरमा आउनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

प्रदेश सरकार गठन हुँदा अधिकारीले वाग्मती प्रदेशको अर्थसचिवका रूपमा काम गरे । त्यसपछि लुम्बिनी प्रदेश मुख्य मन्त्रीको कार्यालयमा १७ महिना सेवा गरे। महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उनी २०७८ पुस ७ गतेको निर्णयअनुसार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए । साभार बाह्रखरी अन्लाईन बाट

Back to top button