
चरीकोट, भदौ २८ गते
दोलखाको वैत्यश्वर गाउँपालिका –५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले १०५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । संस्थाको आव ०७९/८० को वार्षिक कार्ययोजना अनुसार छात्रवृत्ति दिन लागिएको संस्थाले जनाएको छ ।
संस्थाले एक सुचना जारी गर्दै संस्थाले जारी गरेका आधारहरु पूरा गरेर विद्यालय बाट सिफारिस भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले बताउनुभयो । संस्थाका अनुसार सामुदायिक विद्यालय तथा क्याम्पमा अध्ययनरत १ सय भन्दा कम विद्याथी भएका विद्यालयका २ जना, १ सय देखि २ सय सम्म विद्यार्थी भएका विद्यालयका ४ जना, २ सय भन्दा माथी विद्यार्थी भएका विद्यालयका ६ जना विद्यार्थीहरुलाई विद्यालयले सिफारिस गर्नुपर्ने छ ।
त्यसैगरी संस्थाले आधारभुत तहका ५० जना विद्यार्थीलाई १ हजार ५ सयका दरले, माध्यामिक तह (९–१०)का ३० जना विद्यार्थीलाई २ हजार ५ सयका दरले ३० जनालाई , माध्यामिक तह (११–१२) का २० जना विद्यार्थीलाई ३ हजार ५ सयका दरले र क्याम्पस तहमा अध्ययनरत ५ जना विद्यार्थीलाई ७ हजारका दरले छात्रवृत्ति दिइने संस्थाका अध्यक्ष चौलागाईंले बताउनुभयो । विद्यालय बाट सिफारिस भएर आएका मध्येबाट सबै तहमा अध्ययन गर्ने १०५ जना विद्यार्थीलाई छात्रवृत्ति दिइने छ । जेहेन्दार र दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ । छात्रवृत्ति पाउनका लागि संस्थाका सदस्य वा सदस्यका छोराछोरी हुनु पर्ने छ । विद्यालयले सिफारिस गरेका विद्यार्थीको नाम सहित शैक्षिकसत्र ०७८ को मार्कसिट वा ग्रेडसिट र सस्थाले जारी गरे अनुसारको सिफारिस पत्र उपलब्ध गराउनुपर्ने संस्थाले जनाएको छ । आजका विद्यार्थी भोलिका देशका कर्णाधार रहेकाले विद्यार्थीहरुको पठनपाठन गर्नका लागि सहज होस भन्ने उदेश्यले छात्रवृत्ति दिन लागिएको अध्यक्ष चौलागाईंले बताउनुभयो । उहाँले भन्नुभयो विद्यार्थीहरुलाइ थोरै भएपनि सहयोग पुगोस भन्ने संस्थाको उदेश्य हो। शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ । दोलखा, काभ्रेपलान्चोक, काठमाडौ ,भक्तपुर, र ललितपुर गरेर ५ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाको मुख्य कार्यालय दोलखाको मैनापोखरीमा रहेको छ । कुल शेयर सदस्य सङ्ख्या ३६ हजार ३९४ पुगेको छ भने संस्थाको कुल सम्पती २ अरब ३० करोड रहेको छ । २०५० सालमा स्थापना गरिएको संस्था दोलखाकै सबैभन्दा ठूलो सहकारी संस्था हो ।