नाम्दुमा सप्पन्न निर्वाचनको भ्रम र यथार्थ

दोलखा । बैत्यश्वर गाउँपालिका -६ नाम्दुमा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको बिषयमा निर्वाचन अधिकृत पवनराज फुयाल फेसबुकमा यस्तो लेख्छन

भ्रम र यथार्थ                                                      यही २०७९।८।४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को सिलसिलामा बैतेश्वर मावि, नाम्दुको मतदान केन्द्र “क” केन्द्रको मतदान अधिकृतको रुपमा अन्य २ जना मतदान अधिकृतहरुका साथ निर्वाचन आयोगले सुम्पेको विशेष जिम्मेवारी निर्वाह गर्न खटिएको थिएँ र त्यहाँ जेजे भएको थियो त्यी घटनाक्रमहरुको बारेमा बाहिर जेजति आइरहेका थिए सबै घटनाक्रमहरुसँग म पूर्णरूपमा जानकार छु । यसरी आजको दिनसम्म आउँदा केही पालितपोषित तथाकथित पत्रकारिता गर्ने एउटा मेडियामा नितान्त चरित्रहत्या गर्ने उदेश्यका साथ मेरो नाम र फोटोसहितको बेलिविस्तार आएको देखेर केही कुरा राख्न चाहन्छु ।
कनिकुथि शुद्ध नेपाली भाषामा केही लेख्न मलाई पनि आउछ र आउथ्यो तैपनि नेपाल सरकारको विशेष जिम्मेवारीमा खटिएको र सो सन्दर्भमा बिबाद भई छानवीन अनुसन्धान भइरहेको विषयमा सम्बन्धित निकायमा पटकपटक लिखित र मौखिक स्पस्टिकरण दिइरहेकोले जथाभावी लेखेर सामाजिक सञ्जालमा हाल्न आवश्यक नठानेर केही नबोलेको हो ।

निर्वाचनमा सेटिङ गरेर मतदान अधिकृत बनेर नाम्दु गएको भन्ने विषयमा- सायद कसैको एकोहोरो चाकडीकारिता गरेर नुनिलो खाइरहेका अजासुहरुलाई नै थाहा हुनसक्छ के हो सेटिङ कसरी कसलाई भनेर या कसले खटाएर र कसको प्रभावमा परेर मतदान अधिकृत बनेर गएको प्रमाण सहित आएको भए राम्रो हुन्थ्यो । फेरि जिल्लामा खटिएका सयौं मतदान अधिकृत र कर्मचारीहरु कुनै पार्टीमा आबद्ध नहुने म मात्रै फलानो पार्टीको कार्यकर्ता रहेको थाहा पाउने र मप्रति प्रत्यक्ष निगरानी राखिएकोमा केही दुखेसो हुनेकुरै भएन ।

त्यसदिन भएका घटनाहरु:
१. करिव ७:२० बजे मतदान सुरु भयो त्यसलगत्तै केही बेरमै एउटा बुथमा मतदान भईरहँदा एकजना नेकपा एमाले पार्टीका कार्यकर्ताले बुथमा जबर्जस्ती गरेको भनी विवाद हुँदा अन्य पार्टीका एजेन्टहरूले चारैतिरबाट लछारपछार पारेर बाहिर निकालेको ।

२. केहिबेरमै “ग” केन्द्रमा दोहोरो बिबाद भएको देखियो म “क” मा भएको र आफ्नै काममा व्यस्त भएको र सामान्य स्थिति देखिएकोले चासो गरिएन ।

३. लगत्तै ५/७ जना युवाहरु मेरो बुथमा आई मतपत्र दे भनेपछि के हो किन हो भन्दा बुथ हानेको देखिनस तुरुन्त दे “ग” मा काङ्ग्रेसले हान्ने हामी (एमालेले) “क” मा हाल्ने भनेपछि म सही गर्दै गरेको मतपत्र छाडेर चुपचाप बसेपछि उनिहरुले त्यो सही गरिसक्न लागेको मतपत्र खोसेर लगे म लाइनमा बस्नुस् यसरी हुदैन भनी सुरक्षाकर्मीलाई पनि मिलाउन अनुरोध गरेँ । यतिकैमा गठबन्धनका मान्छेहरु आई अरु मतपत्रहरु पनि तानातान गर्न लागे कोहि छिटोछिटो सही गर भन्ने कोही सही नै नगरेको भित्रपटी राखिएको मतपत्र लिएर जाने गर्न थाले । त्यो कार्य पहिले “ग” केन्द्रमा सुरु भई क्रमशः मेरो “क” र “ख” केन्द्रमा भएको हो । यी घटनाहरु हुँदै गर्दा प्रहरी मुकदर्शक बनी हेरिरहेको अवस्था थियो । अनि मतदान अधिकृतसँग कौनसा गोली या हतियार या कुनै जादु हुन्छ र मतपत्र र मतपेटिकाको सुरक्षा गर्ने महोदय ??

४. मतदान स्थलको सुरक्षा खटिएको म्यादी सहितको सुरक्षाले स्थिति नियन्त्रणमा लिन सकेन तुरुन्तै बाहिरबाट इन्सपेक्टर सहितको प्रहरी भित्र छिर्यो । त्यतिनै बेला एमालेका कार्यकर्ताले मेरो क केन्द्रका संघको प्रत्यक्ष तर्फको र संघको समानुपातिकको मतपेटिका फुटाउने उदेश्यले तल चौरमा फालेर भागे । त्यसपछि एमालेका एजेन्ट र कार्यकर्ताहरु सबै बाहिर निस्के । त्यसपछि उनिहरुले नै आफुले खोसेर लगेका मतपत्रहरुको फोटो र यी सबै घटनाहरुको भिडियो जताततै सार्वजनिक गरियो ।

५. यो सबै घटनाको बारेमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गरिएपछि २ ओटा मतपेटिकामा चुडिएका सिलहरु उपस्थित दलहरुको रोहवरमा मुचुल्का गरि पुन सिल लगाई मतदान सुचारु गर्ने माथिको आदेश बमोजिम गरि मतदान सुचारु गरियो ।

६. त्यसपछि दिनभर नै प्रहरी इन्सपेक्टरको नेतृत्वमा आएको सुरक्षा टोलीको उपस्थितिमा मतदान कार्य सुचारू गरियो ।

७. करिव सवा २ बजेको समयमा एकजना पाका व्यक्ति जो एमालेका पहुँचका व्यक्ति भन्ने पछि बुझिएकोले आई हामी मतदान अधिकृतहरुलाई धम्कि दिदै घुमिरहेको बखत “ख” केन्द्रमा रहेको प्रतिनिधि सभाको समानुपातिक मतपत्र खसालिएको मतपेटिकामा आक्रमण गरि बिर्को फुटाएपछि स्थिति तनावग्रस्त भयो । सुरक्षाकर्मीले के हेरेर बस्यो त ? कि सुरक्षाकर्मीलाई पनि समाचार लेखी एकजना मतदान अधिकृतको चरित्रहत्या गर्न खोज्ने पत्रुकार र उनिहरुका मतियार पार्टीले हेरेरमात्र बस्ने भन्ने आदेश दिएको त हैन होला ????
तिमीहरुकै समाचार माध्यमबाट चुनावको अघिल्लो दिनसम्म बुझिएअनुसार दोलखा र बैतेश्वर आयोगको अती संबेदनसिल क्षेत्रमा परेको र हाइ कमान्डो स्तरको सुरक्षा संयन्त्र परिचालन गरिएको थियो भनेका थियौ अनि मतदानको दिन बुध हान्न या मतदान अधिकृतले बुध कब्जा गरुनजेल के हेर्यो? मतपत्र लुटेर बाहिर निस्केर फोटो भिडियो खिच्न रोक्ने र मतपेटिकाको रक्षा गर्ने जिम्मेवारी म एउटा मतदान अधिकृतमाथि थोपरेछौ यहि हो तिम्रो चेतनाको स्तर ????

८. त्यसपछि “ख” केन्द्रमा फुटेको मतपेटिकाको बारेमा ख कै मतदान अधिकृतले माथि समन्वय गरि मुचुल्का गर्नुभो र आदेश बमोजिम गर्नुभो । त्यसमा म “क” को मतदान अधिकृतलाई जानकारी छैन । त्यस्तै सुरुदेखि बिबाद भएको “ग” केन्द्रमा केके भयो मलाई सबैकुरा जानकारी हुने कुरै भएन आफ्नो आफ्नो स्थानमा बसिन्छ ।
तर तथाकथित चरित्रहत्याको आरोप म “क” को मतदान अधिकृतमाथि मात्रै किन आयो पितपत्रकार महोदय जबाफ देउ ????

९. पाँच बजेसम्म आएका जनतालाई मतदान गर्न दिई माथिको आदेश बमोजिम जेजस्तो अवस्था छ त्यस्तै मुचुल्का गरि चरिकोट ल्याउने आदेश बमोजिम पोको पारी लगेर मुख्य निर्वाचन अधिकृतसँग बसी जेजे भएको हो त्यही व्यहोराको प्रतिवेदन तीनवटै केन्द्रका मतदान अधिकृतहरुले संयुक्तरूपमा “ग” केन्द्रका मतदान अधिकृतको भाषामा लेखी हस्ताक्षर गरि बुझाएर रुजु गरि मतपेटिका बुझाएको हो । किनकि दिनभरि भएका एकएक घटनाक्रमको वास्तविकता उहाँ, प्र.जि.अ सर र निर्वाचन आयोगमा समेत प्रत्यक्ष जानकारी छ ।

अनि के तिम्रो समाचारमाले तोकेका हामी २ जना बाहेक सबै तिम्रो पार्टीका मतदान अधिकृतहरु थिए भन्न खोजेको हो ????
र याद गर मेरो चेतना, लेखाई, बुझाई र धारणा अनि बिचार तिमीहरु जस्तै भ्रमको खेती गर्ने, आफु खास केही नगर्ने अनि बाह्रैमास अरुको खोजिखन्तरो गरि बिषबमन गर्ने, चियोचर्चो गर्ने, अरुको निन्दा गर्ने, मै.जा.सु. बन्ने, जेपनि बोल्ने, अपमान र चरित्रहत्या गर्ने, आफ्नो मात्रै बनाउने अरुको सबै भत्काउने बानी परेकाहरुको गलत प्रबृत्ति बिरुद्ध हो र तिमीहरुको जस्तो कसै व्यक्तिको बिरुद्ध केही बिगारेको छैन । म हो म छु र यस्तै हुनेछु । कसैको दास र झोलेकारिता गरेको छैन कदापि गरिन्न । स्वतन्त्रताको अधिकार म जतिको सचेत नागरिकसँग पनि छ धेरै मैजासु नबन !

Back to top button