७ बर्ष देखि निशुल्क सेवा दिदै आएको पशुपति चौलागाईं अस्पतालले माघबाट शुल्क लिने

सुजन काफ्ले                                              चरिकोट ,पौष २७ गते
७ बर्ष देखि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पशुपति चौलागाईं स्मृति अस्पतालले शुल्क लिने भएको छ ।दोलखा सदरमुकाम चरीकोटमा रहेर स्वास्थ्य सेवा दिदै आएको सो अस्पतालले सोमबार एक सुचना जारी गर्दै माघ १ गते बाट शुल्क लिने जनाएको हो ।
अस्पताल संचालन एवम ब्यवस्थापन समितिको निर्णय अनुसार माघ १ गतेदेखी यस अस्पतालमा रास्ट्रीय स्वास्थ्य बिमा कार्यक्रम गर्ने निर्णय गरेको जानकारी गराउदै सो बिमा कार्यक्रममा सुचिकृत नभएका बिरामीको हकमा शुल्क लाग्ने सुचनामा उल्लेख गरिएको छ । अस्पतालले कुन कुन सेवामा कति कति शुल्क लाग्ने भनेर सुची पनि निकालेको छ । अस्पतालका प्रमुख डाक्टर ज्ञानेश्वर श्रेष्ठले आर्थिक रुपमा बोझ थपिँदै जान थालेपछि अस्पतालले निशुल्क सेवा हटाएर सशुल्क बनाउन लागिएको बताउनुभयो । अस्पतालले अन्यत्र जिल्लाका सरकारी अस्पतालको मूल्य मिल्ने गरी सुर्वसुलभ र सस्तो शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न मासिक करिब १२ देखि १४ लाख बराबरको रकम लाग्ने तर अस्पतालको आम्दानीको स्रोत भनेको क्यान्टीन र निजी फार्मेशी मार्फत उठ्ने घरभाडा मात्र रहेको थियो,अब निजि फार्मेशी पनि हटाएर अस्पतालले नै फार्मेशी चलाउने डाक्टर श्रेष्ठले बताउनुभयो । अस्पतालमा कार्यरत आधा कर्मचारीको तलब प्रदेश सरकारबाट आउने गरेको र आधाको तलब अस्पतालले आन्तरिक स्रोतबाट दिइरहेको छ।‘अस्पतालमा हाल ७२ जना कर्मचारी कार्यरत छन्। ती मध्ये प्रदेश सरकार,सङ्घीय सरकार र नगरपालिबाट स्थायी र करार गरेर ३७ जनाको तलब पठाइरहेको छ । बाँकी ३४ जनाको अस्पतालले आन्तरिक स्रोतबाटै तलब खुवाइरहेका अस्पतालले जनाएको छ ।

सो अस्पताल विदेशी लगानीको एउटा गैरसरकारी संस्थाले ७ बर्ष अघि विशेषज्ञ सहित निशुल्क सेवा दिने गरी १० बर्षका लागि जिम्मा लिएको थियो ।अस्पतालको व्यबस्थापनबाट गत बर्ष उसले बीचैमा हात झिकेको थियो। त्यस यता प्रदेश सरकारकै स्रोत र अस्पतालका विभिन्न अन्य स्रोतबाट निशुल्क सेवा सुचारु गरिँदै आएको थियो। यस अघि प्राथामिक स्वास्थ्य केन्द्र रहेको अस्पताललाई तत्कालिन सरकारले न्याय हेल्थ नेपाल नामक गैरसकारी संस्थालाई निशुल्क उपचार सहितको बिशेषज्ञ सेवा दिने गरी २०७२ सालमा १० बर्षका लागी व्यबस्थापनको जिम्मा दिएको थियो। तर आफ्नो संस्थामा विदेशी अनुदान रोकिएको भन्दै गत बर्षको कार्तिक १६ गते उक्त ‘एनजिओ’ फर्केपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरीकोट सहित ४ ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको थियो।

कार्तिकदेखी मंसिर महिना सम्मको उक्त एक महिने अवधीमा पुरानै कर्मचारी करारमा राखेर भीमेश्वर नगरपालिकाले यो अस्पताललाई नगर अस्पतालका रुपमा चलाएको थियो।
पछि प्रदेश सरकारले दोलखा क्षेत्र नं २ का तत्कालिन प्रदेश सांसद स्वर्गीय पशुपति चौलागाईको नामबाट अस्पतालको नामाकरण गरेको थियो। अस्पतालमा सर्जरी, ओपिडी शल्यक्रिया सहित २७ भन्दा बढि प्रकारका सेवा उपलब्ध छन्। यस्तै आईसीयु, भेन्टिलेटर, डाईलोसेस, पिआईसियु लगायतका सेवा समेत विस्तार गर्ने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।

Back to top button