बेपत्ता छोरोका फोटो लिएर खोजी गर्दै हिडेका दोलखाका मेघराज

सुजन काफ्ले                                            चरिकोट, पुस ३० गते । दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारी घर भएका मेघराज सुवेदी सात वर्षदेखि सम्पर्क विहीन भएका छोराको खोजीमा भौँतारी रहनुभएको छ ।

जिल्ला हुलाक कार्यालय चरिकोटमा काम गर्दै आउनुभएको सुवेदीको दैनिकी कार्यालयको काममा मात्र सीमित छैन । कामभन्दा छोराको सम्झनाले धेरै सताउने गरेको छ सुवेदीलाई । त्यसैले उहाँ विगत सात वर्षदेखि छोराको खोजीमा हुनुहुन्छ ।

वि.सं २०७३ माघ महिनामा छोरा बेपत्ता भएको सुवेदी बताउनुहुन्छ । सुवेदीका छोरा प्रदीप बेपत्ता हुँदा १९ वर्षको हुनुहुन्थ्यो ।

सात वर्षदेखि बेपत्ता हुनुभएको प्रदीप अहिलेसाँ भेटिनुभएको छैन । वि.सं २०७१ मा एसएलसी दिएर थप अध्ययनका लागि नवलपरासीस्थित तत्कालीन देवचुली नगरपालिका–१० भगभाव टोलमा रहेकी सानीआमा लक्ष्मी थापामगरको घरमा प्रदीप बस्दै आउनुभएको थियो ।

त्यसको दुई वर्ष अर्थात् २०७३ माघ १६ गते त्यहीबाट बेपत्ता हुनुभएको बुबा मेघराज बताउनुहुन्छ ।

‘‘२०७३ सालको दशैंमा घर आएर केही दिन बसेका थिए । त्यसपछि नवलपरासी फर्किएका छोरासँग मङ्सिर २० गते फोनमा कुरा भएको थियो ।,’’ बुबा मेघराज सम्झिँदै भन्नुहुन्छ, ‘‘त्यसपछि आजसम्म कुनै कुरा नभएको र सम्पर्कमा पनि आएको छैन ।’’

दशैंमा नवलपरासी फर्किएपछि पढाइका लागि ५० हजार रुपियाँ पठाएको र  २० गते पैसा पाए भनेर छोराले फोन गरेको मघेराजले बताउनुभयो ।

वि.सं २०७३ माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा मृत्यु प्रमाणपत्र भन्दै आफ्नो मृत्यु भएको घोषणा गरेर बेपत्ता भएको छोरा जीवितै छ वा मृत्यु नै भएको हो भन्ने सात वर्षसम्म पनि कुनै जानकारी हुन नसकेको मेघराजको भनाइ छ ।

‘‘कक्षा १२ मा पढ्दै गर्दा माघ १६ गते सानीआमा लक्ष्मीकी छोरी (बहिनी) सँग स्कुलबाट सँगै फर्किएको र बाटोमा बहिनीलाई मोबाइल राख्न दिएर ट्युसन जान्छु र त्यतैबाट साथीकोमा नै बस्छु भन्दै गएका थिए ।,’’ मेघराज भन्नुहुन्छ,‘‘त्यसपछि बेपत्ता भएको भनिए पनि अरू कारणबारे कुनै जानकारी प्राप्त भएको छैन ।’’

मेघराजले छोरा बेपत्ता हुनुमा सानाआमा लक्ष्मीकै संलग्नता रहेको भन्दै २०७४ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीमा निवेदन दिएको थियो ।

‘‘सानीआमा लक्ष्मीको घरमा बसेर बढ्दै आएको छोरा ह्याएको खबर ढिलामात्र आएको थियो । आफूले पठाएको पैसा समेत छोराले खर्च नगरेको र सँगैपनि नगरेको जानकारी भएकाले छोरा हराउनुमा लक्ष्मीकै संलग्नता हुनसक्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘२०७४ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीमा समेत निवेदन दिएको छु । तर, अहिलेसम्म छोराको कुनै पत्तो लाग्न सकेको छैन ।’’

छोरा हराएको नौ दिनपछि २०७३ माघ २५ गते छोराको खोजिएका लागि प्रदीपकी आमाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दिनुभएको थियो ।

मेघराज छोराको फोटो लिएर खोजीका लागि सबैसँग हारगुहार गर्दै आउनुभएको छ । तर, दोषीको नामसहित किटानी (जाहेरी) दिँदा समेत प्रहरीले यसप्रति कुनै चासो नदिएको उहाँको गुनासो छ ।

‘‘मेरो छोरा हराएको सात वर्ष बित्यो तर, मलाई अझै छोरा जीवितै छ भन्ने आस छ,’’ मेघराजले भन्नुभयो, ‘‘छोराको खोजीमा सबैले सहयोग गरिदिनु हुन अनुरोध गर्छु ।’’

Back to top button