चरीकोट सातदोबाटो चोकको बहुउद्देश्यीय भवन अलपत्र बनेको कि बनाइएको

सुजन काफ्ले / माघ २ गते
चरिकोट ।दोलखा सदरमुकाम चरीकोट सातदोबाटो चोकमा लामो समय देखि बहुउद्देश्यीय भवन निमार्ण सम्पन्न नहुँदै अलपत्र अवस्थामा छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको भवन देख्ने बित्तिकै सबैले सोध्ने गर्छन यो भवन अलपत्र बनेको कि बनाइएको भनेर।
भवन हेर्दा सबै काम सकिएर रङ लगाउन,झ्याल ढोका हाल्न लगायत सामान्य मर्मतको काम बाकि भएको मात्र देखिन्छ, स्थानीय पुष्कर अधिकारीले बताउनुभयो । निर्माण कम्पनिले अलपत्र पारेको हो भने नगरपालिकाले बोलाएर काम सम्पन्न गराउनुपर्ने हो,हैन भने आफैले काम सम्पन्न गराउनुपर्ने हो, यस बिषयमा किन नगरपालिका मौन छ, उहाँको जिज्ञासा छ ।
भिमेश्वर नगरपालिकाले नबनिर्मित बहुउद्देश्यीय भवन भाडामा लगाउने बारे समयमैं निणर्य गर्न नसक्दा सो भवन अलपत्र अवस्थामा परेको हो । नगरपालिकाले भवनको भाडा बापत उठ्ने लाखौं रकम गुमाई रहेको छ । भवन नगरविकास कोषको अनुदान तथा आंशिक ऋणमा निमार्ण गरिएको भिमेश्वर नगरपालिकाले जनाएको छ । । भीमेश्वर नगरको गौरवको आयोजनाको रुपमा निर्मित बहुउद्देश्यीय भवन भाडामा लगाउने सम्बन्धमा गत आर्थिक वर्षमा नैं आशय पत्र माग गरिएकोमा आठ वटा आशय पत्र मध्ये सात वटाको प्राविधिक प्रस्ताव स्वीकृत भएको भिमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताउनुभयो ।
आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीहरु मध्ये छनोट भएका सातबटा प्रस्तावहरुलाई आर्थिक प्रस्ताव पेश गर्न सूचना निकाली सकिएको भीमेश्वर नगरपालिकाका राउतले बताउनु भयो । आर्थिक प्रस्ताव पेश भएपछि त्यसको मूल्याङ्कन पछि भवन भाडामा लगाईने उहाँको भनाई छ । भवन भाडामा दिने मोडालिटी परिवर्तन गर्ने अथवा पहिलेकै मोडालिटीमा भाडामा लगाउने भन्ने वारेमा नगरपालिकाबाट लामो समयसम्म निणर्य नहुँदा भवन भाडामा लगाउन ढिलाई भएको उहाँको भनाई छ ।
आशय पत्र माग गरिएको लामो समयसम्म पनि भवन भाडामा लगाउन नगरले ढिलाई गर्दा ऋणको सावाँ तथा ब्याज गरेर लाखौ रकम तिर्नुपर्ने भएको छ । पुस महिना भित्र नै सो भवनको ऋणको किस्ता वापत सावाँ र ब्याजगरी ६ लाख ७३ हजार पाँचसय उनान्साठी रुपैयाँ नगरविकास कोषलाई नगरपालिकाले बुझाइसक्नुपर्ने छ ।बहुउद्देश्यीय भवन निर्माणमा करिब १२ करोड खर्च भएको प्राविधिक प्रमुख राउतको भनाई छ ।

Back to top button