हिउँद सकिएपनि अझै परेन दोलखामा हिउँ

सुजन काफ्ले / माघ ९ गते                               चरिकोट । हिमालमा हिउँ पर्नु अस्वभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला दोलखामा हिउँ पर्थ्यो । गतवर्ष कार्तिक देखि अहिले सम्म ३ पटक बाक्लो हिउँ परेको थियो तर यो वर्षको हिउँदमा भने एकपटक पनि हिउँ परेको छैन ।
। हिउँ परेपछि दोलखाका होटल हरु भरीभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिदैन ।

जिल्लाको मुख्य पर्यटकिय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन । आन्तरिक तथा बाह्य पर्यटकले धानेको होटल क्षेत्रमा हिउँ नपरेकै कारण हिउँदको समयमा पनि कालिन्चोक क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको होटल ब्यवसायी हरी वलीले बताउनुभयो ।
जिल्लाको मुख्य पर्यटकीय स्थलका रुपमा चिनिने कालिन्चोक,जिरी शैलुङ खरीढुङ्गा लगायतका क्षेत्रमा चाँदीझै हिउँले सेताम्मे हुन्थे । हिउँ पर्ने महिना सकिए लागे पनि यसपालि दोलखामा हिउँ पर्ने छाटकाट देखिदैन । हिमपातसँगै मुटु काम्ने ठिही यसपालि आएन । हिउँ हेर्न र हिउँसग रमाउन सयौं आन्तरिक तथा बाह्य पर्यटक दोलखा आउँने गरेका थिए ।

स्थानीय पुस्कर अधिकारी पुष माघ महिनामा थेग्नै नसक्ने गरी हिउँ परेको सम्झनुहुन्छ । उहाँ भन्न्हुन्छ ‘कालिन्चोक, शैलुङ लगायतका बस्ती सबै हिउँले सेताम्मे हुन्थ्यो । खै किन हो, यो वर्ष हिउँको दर्शनसमेत गर्न पाइएन ।’ मौसममा हिउँ नपरेपछि दोलखाका हिमशृखंला कालापत्थर जस्ता देखिएका छन् । कालिन्चोक गौरीशंकर हिमाल क्षेत्र सौर्न्दय विहीन बनेका छन् । यसपालि हिमपात नभएका कारण आन्तरीक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको कालिन्चोकका अर्का होटल ब्यवसायी चन्द्र कुमार लामाले बताउनुभयो । धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा आउने पर्यटकको पहिलो रोजाइ हिउँसगँ रमाउने रहेको थियो । हिउँ खेल्नकै लागी भारतीय मुलका पर्यटक समेत कालिन्चोक आउने गरेको ब्यवसायी लामाले बताउनुभयो ।

हिउँ नपरेपछि कृषि र पर्यटन क्षेत्रमा असर पुगेको भिमेश्वर ७ का मकैबारीका किसान मिरा सुबेदीले बताउन्भयो । यहाँका किसानका लागि हिउँ उपहार हो । हिउँदमा जमिनको सतह चिसो हुने र सो समय हिउँ पर्दा जमिनको भित्री तहसम्म चिसो पुग्ने भएकाले कृषकले लगाएको अन्नवाली सप्रने उहाँले बताउनुभयो ।
हिउँले गहुँ,जौँ,आलु,बन्दा,काउली,साग लगायतका अन्नबाली सप्रिनुका साथै फलफुल तथा तरकारीबालीमा लाग्ने विभिन्न रोगको प्रकोप नियन्त्रण गर्छ । अब गर्मी बढ्ने बेला हुन थालेकोले अब हिउँ परे पनि फलफूल तथा अन्नबालीलाई खाँसै फाइदा नहुने स्थानीय कृषकको गुनासो छ ।

Back to top button