बैत्यश्वर गाउँपालिकाको प्रगती विवरण सार्वजनिक

चरिकोट, फागुन ५ गते
जिल्लाका कतिपय स्थानीय तहले सुशासन र पारदर्शीताको पाटोलाइ खासै चासो नदिएका बेला दोलखाको बैत्यश्वर गाउँपालिकाले भने सार्वजनिक सुनुवाइ गरी प्रगती विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष ०७९र ०८० को साउन देखि माघ सम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको ७ महिनाको प्रगती विवरणअनुसार चालुतर्फ १५ करोड ९७ लाख ८७ हजार ९२७ रुपैयाँ खर्च गरेको गाउँपालिकाले विकास निमार्णतर्फ ४ करोड ४२ लाख ८७ हजार दुई सय ९७ रुपैयाँ खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताउनुभयो । ‘प्रतिशतमा हेर्दा चालुतर्फको खर्च ५५।५३ प्रतिशत र पुँजीगत तर्फको खर्च २५।८७ प्रतिशत हो,’ उहाले भन्नुभयो ‘चालु वर्षमा एक सय ७९ वटा योजनामा रकम विनियोजन गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका वडा नम्बर ६ कि रेनुका बयालकोटीले गाउँका पक्की सडक नहुदा हिउँदमा धुलो र वर्षायाममा हिलोले सताउने गरेको बताउनुभएको थियो । उहाँले भन्नुभयो सडकको नि समस्यानै छ ,खानेपानीको पनि समस्या छ, सिचाइको अभावले गर्दा खेतीयोग्य जमिनमा पनि खेती गर्न नसकिएकोले सिचाइको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । जवाफ दिँदै सोही वडाका वडा अध्यक्ष अशोक तामाङले बागमती प्रदेश सरकारको सो क्षेत्रमा २४ लाख बजेटको योजना रहेकाले छिट्टै नै काम अगाडी बढाइने बताउनुभयो । अध्यक्ष तामाङले खानेपानिको समस्या समाधानको लागी गाउँपालिकाले एक घर एक धारा कार्यक्रम सुरु गरिसकेकाले छिट्टै नै खानेपानिको समस्याको समाधान गरिने बताउनुभयो । पालिका र वडाबाट छलफल गरेर खेतीयोग्य जमिनमा सिचाइको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका वडा नम्बर ३ का स्थानीय कृष्ण दाहालले गाउँमा संचालनमा रहेको ढुङ्गाखानी प्रशाशनले बन्द गरेकाले प्रतिदिन ६० जना स्थानीयको रोजगारी खोसिएको बताउनुभयो । गाउँपालिकाले खानी संचालन गर्न पहल गर्नुपर्ने बताउनुभयो । जवाफ दिनुहुँदै सोही वडाका वडा अध्यक्ष कमल अधिकारीले खानी जिल्लाकै निर्देशनमा बन्द गरिएकाले बन्द खानी खुलाउन पहल गर्ने बताउनुभयो । उहाले भन्नुभयो खानी बन्द हुदाँ रोजगारी मात्र गुमेको छैन लाखौ राजश्व पनि गुमेको छ । गाउँपालिकाले खानी खोल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञासाको बारेमा जवाफ दिनुहुदै गाउँपालिका अध्यक्ष छबि लामाले एक वर्षभित्र पालिकाको सबै घरमा एक घर एक धारा निमार्ण गर्ने बताउनुभयो ।
सडक, शिक्षा र सहकारीको क्षेत्रमा वैतेश्वर गाउँपालिका दोलखाका ९ वटा स्थानीय तहहरुमध्ये पहिलो रहेको हुँदा आगामी दिनमा अझ विकास गर्न बाँकी रहेको लामाले बताउनुभयो । पालिकाहरुमध्ये आफ्नै बजेटले पाँच किलोमिटर सडक कालोपत्रे गर्ने पहिलो गाउँपालिका रहेको लामाले बताउनुभयो । ‘गाउँपालिकाका लागि सूचना र प्रविधिको क्षेत्रमा फड्को मारेका छौं,’ उहाँले भन्नुभयो, ‘नियमित वेबसाइट अपडेट र हरेक वडामा इन्टरनेटको पुर्याउने काम भइरहेको उहाँको भनाइ छ । दलित, अपांगता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिकलगायत क्षेत्रमा पनि संवेदनशील भएर काम गरिरहेको अध्यक्ष लामाको दाबी छ।
सार्वजनिक सुनुवाइ गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, शाखा प्रमुख रविन्द्र चौलागाई र वडाअध्यक्षहरुले मन्तव्य व्यक्त गर्नुभएका थिए । त्यस्तै नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सदस्य कृष्ण बहादुर दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा र जिल्ला अध्यक्ष दीपशंकर चौलागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थिए । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, कृषि, पशुपालन सम्बन्धी जिज्ञासा राखेका थिए ।

Back to top button