शैलुङमा मिनी ग्रेटवाल निर्माण हुँदै

 

चरीकोट, फागुन २२ गते । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा पर्यटन प्रवर्धन गर्न  मिनि ग्रेटवाल निर्माण भइरहेको छ ।  दोलखाको शैलुङ गाउँपालिका–८ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ बेसक्याम्प मानिने कालापानीदेखि शैलुङ डाँडासम्म मिनी ग्रेटवाल निर्माण भइरहेको हो ।शैलुङ क्षेत्रमा मिनी ग्रेटवाल निर्माण गर्न ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपियाँमा सोबर्ण निर्माण सेवासँग २०७८ असार १५ गते सम्झौता गरिएको उहाँले बताउनुभयो । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्नेगरेको छ । केही समयअघिसम्म ओझेलमा परेको शैलुङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैगएको छ ।

समुद्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको शैलुङ डाँडामा हिउँ परेपछि पर्यटकको चहलपहल बढ्नेगरेको थियो । गतवर्ष ३ पटक बाक्लो हिउँ परेकोमा यो वर्ष भने केही दिनअघि सामान्य हिमपात भएको थियो । एउटा ठूलो मैदानमा १ सय फरक फरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई पनि लोभ्याउने गरेको छ ।

सय टाकुरा रहेको शैलुङमा हिउँ पर्नासाथ साहसिक खेल स्की खेल्नका लागि पर्यटक आउनेगरेका छन् । पर्यटकलाई लक्षित गरी शैलुङ गाउँपालिकाले शैलुङ विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार विकासको काम गरिरहेको शैलुङ गाउँपालिकाले जनाएको छ ।

Back to top button