पर्यटकका लागि आकर्षक गोलघर निर्माण

श्री कृष्ण काफ्ले / चरीकोट, फागुन २२ गते । दोलखाको शैलुङ गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न  कालापानीलाई बेस क्याम्प बनाउन र पर्यटक भित्र्याउन विभिन्न संरचनाहरू निर्माण गरिरहेको छ । गाउँपालिका पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शैलुङमा भ्युटावर निर्माण सम्पन्न गरेको छ भने मिनी ग्रेटवालको निर्माणको काम पनि धमाधम भइरहेको छ ।

गाउँपालिका –८ मा अवस्थित कालापानीमा पर्यटकलाई सेवा सुविधाका लागि होटल, गोलघर लगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । अझ केही समयमा नै यी संरचनाहरू सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।

समुद्र सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको शैलुङ डाँडालाई पर्यटकहरू लक्षितगरी कालापानीलाई बेस क्याम्प बनाइएको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनबहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार यो स्थान जिल्लाको अग्लो भूभाग र पर्यटकीयस्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दैगएको छ । बागमती प्रदेश सरकारको साढे दुई करोड लगानीमा गोलघर निर्माण गरिएको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा हलसहित १५ वटा कोठा रहेको गाउँपालिकाले जनाएको छ ।

यहाँ पर्यटक बस्नका लागि होटलहरु निर्माण गरिने योजना रहेको र केही होटल  सञ्चालनमा रहेको पालिकाले जनाएको छ । केही निमार्णको चरणमा रहेको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारले निर्माण गरेको गोलघर गाउँपालिकालाई हस्तान्तरण गरिसकेकाले हस्तान्तरण पछि पर्यटकको बासका लागि प्रयोग गरिने उहाँको भनाइ छ ।

पर्यटकको सुविधाका लागि गाउँपालिकाले निःशुल्क वाइफाइको सुविधा दिइएको छ । गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ । कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । – gorkhapatra

Back to top button