तामाकोसीको केन्द्र तोक्न : गोप्य मतदान गर्दा आर्थिक चलखेल ,खुल्ला गर्दा जनप्रतिनिधि असुरक्षित

सुजन काफ्ले
दोलखा । गाउँगाउँमा सिंहदरवारको नारा लिएर स्थानिय सरकार आएको करिव ६ बर्ष पूरा हुन लागेको छ । तर गाउँमै सेवासुबिधा दिने गरि सिंहदरवारको अधिकार गाउँ सम्म ल्याएका स्थानिय तहका कार्यालय भने अझै भाडाको भरमा सन्चालन भइरहेको छ । अब त घर छेउमा नै सहज रुपमा सेवा पाइन्छ भन्ने बुझेका कतिपय तामाकोसीका आशा निराशा बन्दै गएको छ ।
योजना संझौता लगायत सानो सानो सेवा लिन पनि ठूलो मेहनतका साथ मात्र स्थानीय सरकार भेटिने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।

‘गाउँ गाउँमा सिंहदरबार होइन सिंह चाहि आए दरबार आएन । ‘एउटा सानो घर भित्र सबै कोचिएर सेवा प्रवाह गरिरहेका छौ । एउटा कोठामा २/३ वटा फाटको काम गर्नु पर्छ तामाकोसी गाउँपालिकाका कर्मचारीहरु गुनासो गर्नुहुन्छ। जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही सबैलाई असजिलो भएपछि तामाकोसी गाउँपालिकाले पालिका केन्द्र तोक्नका लागि गाउँ सभा आव्हान गरेर प्रस्ताव माग गरेको थियो ।

तामाकोसी गाउँपालिका -२ झुलेका वडा अध्यक्ष इश्वर कार्किले गाउँपालिका -३ जफेको छौडेलाइ केन्द्र बनाउने प्रस्ताव गर्नुभयो । त्यसै गरि वडा नम्बर ३ का वडा अध्यक्ष राम प्रशाद काफ्लेले सोही वडाको मानिडाडालाई केन्द्र बनाउनु पर्ने प्रस्ताव गर्नुभयो । त्यसै गरि वडा नम्बर ७ का वडा अध्यक्ष खुस बहादुर सुनुवारले वडा नम्बर ४ मालुको वडा कार्यालय आसपास केन्द्र बनाउनु पर्ने प्रस्ताव गर्नुभयो । सोही -३ प्रस्ताव छलफल गरि केन्द्र टुंगोमा पुर्याउन पालिकाले सोमबार गाउँ सभाको बैठक बोलाएर छलफल अगाडि बढायो ।

सो छलफलको क्रममा गाउँ सभाका सदस्यहरु बीच पालिका केन्द्र तोक्न गोप्य मतदान गर्ने कि खुल्ला हात उठाएर तोक्ने भन्ने बिषयमा सभाका सदस्यहरु बिच एकमत देखिएन । सभामा सदस्यहरुलाइ आआफ्नो धारणा राख्न २ मिनेट समय छुट्याइयो ।

आफ्नो धारणा राख्ने क्रममा सभाका सदस्य प्रचण्डदिप कार्कीले देशमा त हात उठाएर ठुला ठुला पास गरिने भएकाले आफू जनताको प्रतिनिधि भएकाले खुल्ला मतदान गर्न पाउनुपर्ने माग गर्नुभयो । जनताको मन जितेर जनप्रतिनिधि भएकाले जनताको लागि केन्द्र तोक्न गोप्यमतदानको आवस्यकता नरहेको बताउनुभयो ।

सभाका अर्का सदस्य नानिकाजी तामाङले गोप्य मतदान गर्दा आर्थिक चलखेलको आरोप लाग्ने भएकाले खुल्ला मतदान गर्न पाउनुपर्ने माग गर्नुभयो।केन्द्र तोक्न उपयुक्त स्थानमा खुल्ला मतदान गर्न पाउनुपर्ने बताउदै उहाँले विभिन्न चलखेल रोक्न पनि खुल्ला मतदान हुनुपर्ने बताउनुभयो ।
सभाका सदस्य बिमला मिजारले प्रस्तावित गरिएका केन्द्र मालु आफ्नो जन्मघर र अर्को केन्द्र जफे कर्मघर भएकाले गोप्य मतदान गर्दा आफुलाइ विभिन्न आरोप लाग्ने भएकाले खुल्ला मतदान गर्न पाउनुपर्ने बताउनुभयो ।

सभाका अर्का सदस्य शम्भु फुयालले भूगोलको हिसाबले दुइतिर बाडिएकाले केन्द्र तोक्न असफल भएको बताउदै हात उठाउदा अघिल्लो सरकारले प्रयास पनि असफल भएकाले गोप्य मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नूभयो द्वन्द निम्त्याउने काम गर्न हुन्न गाउँपालिकालाइ अनिर्णयको बन्दी बनाएर भाडामा मात्र पालिकाको मासिक लाखौं रुपैयाँ खर्च हुने गरेको बताउनुभयो ।

सभाका अर्का सदस्य राम प्रशाद काफ्लेले पालिका केन्द्र जिल्ला बिकास समितीले तोकेको मानिडाडामा नै हुनुपर्ने बताउनुभयो । हात उठाएर केन्द्रको बारेमा निर्णय गर्नुपर्ने बताउदै गोप्य मतदान गरे सिङ्गो वडा नै बाहिरिने बताउनुभयो ।
सभाका अर्का सदस्य नारायण खड्काले कार्यपालिकाको बैठकमा नै कार्यपालिका सदस्यहरु असुरक्षित रहेकाले खुल्ला मतदान गर्दा सभाका थप सदस्यहरु समेत असुरक्षित हुने भएकाले गोप्य मतदान गर्नुपर्ने बताउनुभयो । सभाका अर्का सदस्य इश्वर कार्कीले आफैले सबैलाई पायक पर्ने छौडे प्रस्ताव गरेको र सो क्षेत्रमा गाउँपालिकाको सबै वडाको केन्द्र पर्ने र जग्गा पर्याप्त रहेकोले सोही स्थानमा केन्द्र तोकिनुपर्ने बताउनुभयो ।

सोमबार बसेको गाउँ सभाको बैठकमा खुल्ला मतदान गर्न पाउनुपर्नेमा वडा नम्बर १ भिरकोट , २ झुले र ३ जफेका १५ जना सदस्य माग गर्नुभएको थियो । त्यसी गरि गोप्य मतदान गर्न पाउनुपर्नेमा वडा नम्बर ४ मालु,५ शहरे, ६ च्यामा सहित १७ जनाले माग गर्नुभएको थियो । वडा नम्बर ७ हावाका ३ जना सदस्य भने तटस्थ बस्नुभएको थियो । गोप्य मतदान गर्न पाउनु पर्नेमा बहुमत भएपछि सभाले पालिकाको केन्द्र गोप्य मतदानबाट गर्ने निर्णय भएको पालिकाले जनाएको छ। पालिका केन्द्रका लागि गाउँसभामा रहेका ३९ सदस्यमध्ये २६ जना अर्थात दुई तिहाई सदस्यले कुनै एक ठाउँमा मतदान गर्नुपर्नेछ ।
अब अर्को गाउँ सभा भने कहिले बस्ने भन्ने अनिश्चित रहेको गाउँपालिकाले जनाएको छ ।

Back to top button