तामाकोसी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर

चरीकोट, चैत ८ गते । तामाकोसी  गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । सात वटा वडा रहेका पालिकाका सबै वडा र एउटा अस्पतालमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि वडावडामा विभिन्न सेवा सुविधासहितको बर्थिङ सेन्टरको स्थापना गरेको तामाकासी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो ।

गर्भवती महिलाको जीवन रक्षाका लागि गाउँपालिकाले गर्भवती महिलालाई पोषणयुक्त खानेकुरा खान दुई हजार रुपियाँ दिने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य चौकीमा गर्भवती महिलाले चार पटक जाँच गराएको भए यातायात खर्च बापत आठ सय रुपियाँ प्रदान गरिने उहाँको भनाइ छ ।

गाउँपालिकाका ७ वडा र अस्पतालमा रहेका सबै स्वास्थ्य चौकीका बर्थिङ सेन्टरमा तालिमप्राप्त दक्ष प्रसूतिकर्मी, सुत्केरी गराउने साधन, औषधिसहितको सुविधा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

वडा–वडामा बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एम्बुलेन्सका साथै अन्य गाडीको भाडा गाउँपालिकाले दिने मिश्रले बताउनुभयो ।

सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा नेपाल सरकारको तीन हजार र पालिकाको तर्फबाट थप दुई हजार रुपियाँ रकम दिने गरेको गाउँपालिकाले जनाएको छ ।

वर्षामा सडक यातायातमा समस्या हुने भएकाले हरेक वडामा बर्थिङ सेन्टरबाट सेवा प्रदान गर्ने गरेको उहाँको भनाइ छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय गर्भवती महिला प्रकृति शिवाकोटीले खुशी व्यक्त गर्नुभयो ।- Gorkhapatra Daily

Back to top button