दोलखा ट्राफिक प्रहरीको आफ्नै भवन नहुँदा समस्या

चरीकोट, चैत ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । प्रहरीको आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो ।

प्रहरीले सातदोबाटो चोकमा जस्ताको टहरामा बसेर सेवा दिँदै आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुराज पुरीले बताउनुभयो । कार्यालय सञ्चालन र वास बस्नका लागि व्यक्तिको घर भाडामा लिइएको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियम विपरीत सञ्चालन भएका सवारीसाधन, चोरीका सवारीसाधन समात्दा राख्ने ठाउँकोसमेत अभाव रहेको पुरीको भनाइ छ ।

“भवन नहुँदा कार्यसम्पादनमासमेत समस्या भएको छ, कार्यालयमा भवन र बस्न अभाव भएका कारण आवश्यक सङ्ख्यामा ट्राफिक प्रहरी राख्न सकिएको छैन,” उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरी परिचालन गर्न देखि कारबाहीमा परेका सवारी साधन राखेर अनुसन्धान गर्न समेत समस्या भएको पुरीले जानकारी दिनुभयो ।

सदरमुकाम चरीकोटमा जिल्ला ट्राफिक प्रहरीको नाममा करिब १ रोपनी जग्गा भएतापनि सो जग्गा पर्याप्त नभएको प्रहरीले जनाएको छ । हाल रहेको जग्गामा भवन बनाउन रकम निकासा नहुने र जग्गा पनि भवन बनाउन मिल्ने खालको नभएको पुरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भवन बनाउन करिब ३ रोपनी जग्गा आवश्यक पर्छ, सो क्षेत्रफलको जग्गा भए सरकारबाट पनि बजेट निकासा गर्न मिल्छ । सरोकारवाला निकायले भवन निमार्णमा आवश्यक सहयोग गर्नुपर्ने देखिएको छ ।” – गोरखापत्र दैनिक

Back to top button