लोकतन्त्र बलियो भए मात्र प्रदेश संरचना सबल हुन्छ : कुन्दनराज काफ्ले

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले लोकतन्त्र बलियो भए मात्र देश र प्रदेश संरचना सबल हुने बताएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्दै सचेतक काफ्लेले लोकतन्त्रको संस्थागत विकास नभएसम्म देश कमजोर हुने बताए । राजनीतिक दलहरु बीचको अन्तरविरोधले लोकतन्त्रलाई कमजोर बनाउने भएकाले यसको संस्थागत गर्न सबै एकजुट हुन जरुरी रहेको उनको भनाई छ ।

‘लोकतन्त्रको संस्थागत विकास नभएसम्म देश कमजोर हुन्छ । राजनीतिक दलहरु कमजोर हुन्छन् । राजनीतिक दलको अन्तरविरोधले लोकतन्त्र कमजोर हुन्छ । हामी सबै मिले लोकतन्त्र बलियो हुन्छ’ उनले भने, ‘लोकतन्त्र बलियो भयो भने मात्र देश बलियो हुन्छ । लोकतन्त्र र प्रदेश बलियो बनाउने विषयमा सरकारले ध्यान दिनुपर्छ । त्यो आजको आवश्यकता हो ।’

सरकारले आफ्ना कार्यक्रमहरु उत्पादनमुखी क्षेत्रमा केन्द्रीत गर्नुपर्ने बताए । अनुत्पादक क्षेत्रमा सरकारले लगानी बन्द गर्नुपर्ने उनको भनाई छ । सरकारले प्रदेशमा नै महावीर पुन जस्ता मानिस उत्पादनमा ध्यान दिनुपर्ने काफ्लेले बताए । ‘सरकारले कमजोरलाई सहयोग गर्नेतर्फ विकासलाई केन्द्रीत गर्नुपर्छ । बागमती प्रदेश कस्तो बनाउने, ५ वर्षको अवधिमा प्रदेशलाई कुन स्थानमा पुरयाउनेतर्फ हामीले ध्यान दिनुपर्छ । प्रदेशमा नै महावीर पुनजस्ता मानिसले उत्पादनमा ध्यान दिनुपर्छ । त्यस्ता व्यक्तिहरु बागमती प्रदेशले खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’ उनले भने ।

कुनै पुराना नेताको नाम जोडिने वित्तिकै सरकारले उपेक्षा गर्ने भन्ने गलत भएको उनले बताए । नाममा भन्दा पनि त्यसले पुर्याएको योगदान र प्रतिफलमा बहस गर्नुपर्ने उनले बताए । ‘मदन भण्डारीको नाम जोडिने वित्तिकै उपेक्षा गर्नैपर्छ भन्ने हुन्न् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरव हो । त्यसको नाममा भन्दा पनि काममा बहस गर्नुपर्छ । त्यसले कति स्वास्थ्यकर्मी उत्पादन गर्यो । कति प्रतिफल दियो त्यो महत्वपूर्ण हुन्छ । मदन भण्डारीको नाम आउने वित्तिकै एमालेको कम्पनी जस्तो र अरुले चाहीँ विरोध गर्नुपर्ने किन ?’ सचेतक काफ्लेले भने ।

उनले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए । नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैले जोड दिनुपर्ने उनको भनाई छ । ‘सरकारको नीति तथा कार्यक्रममा शब्दमा एजेण्डा आउने हो । त्यसलाई कार्यान्यन गर्ने हाम्रो जिम्मेवारी हो । सबैले त्यसलाई बल दिने हो । सरकारलाई सघाउने हो ।’ उनले भने ।- ratopati

Back to top button