काठको पोलमुक्त अभियानमा दोलखा वितरण केन्द्र

चरीकोट, जेठ ३१ गते । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिएको छ । विद्युत् सेवा भरपर्दो र गुणस्तरीय बनाउन पुराना जीर्ण र काठका पोलमुक्त बनाउने अभियानलाई तीव्रता दिएको हो ।

जिल्लाभरको काठका पोल विस्थापित गरी सोही ठाउँमा नयाँ फामे पोल प्रतिस्थापन गर्ने काम सुरु गरेको हो । हाई भोल्टेज लाइन भएका पोलहरूको सुधार गरिएको वितरण केन्द्रले जनाएको छ। शाखा लाइनमा रहेका विद्युत्का पोलहरूमा छोएका रुखहरू, हाँगा हटाई काठका कुहिन लागेका र मक्किएका पोलहरू हटाउने कामलाई तीव्रता दिएको वितरण केन्द्रले जनाएको छ ।

विद्युतको महसुल दुई महिनासम्म नतिर्ने सरकारी, गैरसरकारी, संस्था, व्यक्तिगत लगायत सम्पूर्णको विद्युत लाइन काट्ने गरिएको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले बताउनुभयो। प्रमुख ढकालले विद्युत महसुल तिर्न आनाकानी नगर्न सम्पूर्ण उपभोत्ताहरुलाई आग्रह गर्नुहुँदै महसुल तिर्न आनाकानी गरे जुनसुकै समयमा विद्युत् लाइन काटिने बताउनुभयो ।

दोलखामा यो वर्ष आठ सय जनाको विद्युत् लाइन काटिएको बताउँदै उहाँले उठ्न बाकी रहेको ४ करोड रकम मध्ये २ करोड ५० लाख रुपियाँ महसुल रकम उठिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्रान्सफर्मर अर्थिङ सुभार तथा मजबुत लोड सेन्टर बनाउने कार्यलाई तीव्र रूपमा अगाडी बढाएका छौँ, प्रयोगमा नरहेका पोल तथा सामाग्रीको पुन प्रयोग गरी अनावश्यक खर्चको बचत गरिएको छ ।”

सुरुवाती समयमा विद्युतीकरणका क्रममा प्रयोग गरिएका पोलले विद्युतीय दुर्घटना बढ्न थालेपछि त्यसलाई हटाएर दिगो र भरपर्दो फलामको खम्बा प्रयोग गर्न थालेको ढकालले बताउनुभयो ।

जिरी र विगु गाउँपालिका क्षेत्रमा अलि बढी बाँकी काठका खम्बा रहेको बताउँदै ढकालले एक वर्षभित्र हटाउने गरी धमाधम कामहरू भइरहेको बताउनुभयो । काठका खम्बा हटाउनका लागि प्राधिकरणले ठेक्का आव्हान गरी सम्झौता समेत गरेर काम सुरु गरिसकेको ढकालले बताउनुभयो ।

यसअघि काठमा धेरै खम्बा भएतापनि धेरै जसो हटाइसकिएको वितरण केन्द्रले जनाएको छ । विद्युत्का खर्च कटौती गर्नका लागि ट्रान्सफरमरको अर्थिक सुधार तथा मजबुत लोड सेन्टर बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको वितरण केन्द्रले जनाएको छ । विद्युत भरपर्दो बनाउन सिङ्गटी सब-स्टेसन र खिम्ती सब-स्टेसनबाट पनि ३३ केभी लाइन जोडिएको छ । केही समयपछि गर्जाङ सब-स्टेसनबाट जिरी सब-स्टेसनमा समेत विद्युत् लाइन जोड्ने गरी काम भइरहेको केन्द्रले जनाएको छ । यसअघि लामोसाँघु सब-स्टेसन र ढल्केबरबाट दोलखामा विद्युत् वितरण भइरहेको थियो ।

विगतमा लामो दुरीबाट विद्युत् वितरण हुँदा बिग्रिने, ट्रिपिङ हुने समस्या थियो । तर, अहिले छिमेकी जिल्लामा रहेको सब-स्टेसनबाट बिजुली ल्याएर सेवा विस्तार गर्दा सहज भएको छ ।

मिटर जडान भएका तर सिल नलगाई चुहावट गरिएका मिटरहरूमा रिसिल गरिएको छ । मिटर जडान, मिटर रिडिङ तथा महसुल सङ्कलन, विद्युत् चोरी नियन्त्रण, वितरण लाइन विस्तार, वितरण लाइन सुधार, संरचना बनाउने मापदण्ड र लाइनको रुट परिवर्तन विद्युतीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाइएको ढकालले बताउनुभयो।

दोलखा जिल्लाभरिमा करिब सात सय काठका खम्बा रहेको वितरण केन्द्रले जनाएको छ ।- Gorkhapatra

Back to top button