एकीकृत बस्तीका स्थानीयलाई लालपुर्जा

चरीकोट, असार १७ गते । दोलखाको भीमेश्वर नगरपालिका –१ मा निर्माण गरिएको पानीपोखरी एकीकृत बस्तीका स्थानीयलाई लालपुर्जा वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले उहाँहरूलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

सो बस्तीका ५६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको भीमेश्वर नगरपालिकाले जनाएको छ । जग्गाधनी पुर्जा वितरण कार्यक्रममा नगरप्रमुख मानन्धरले एकीकृत बस्ती व्यवस्थापन गरेर यहाँको अरू समस्याको पनि छिटै समाधान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ खानेपानीको समस्या भएको गुनासो आएको छ,  त्यसको समाधान गरेर एकीकृत बस्तीका स्थानीयलाई रोजगारमूलक काममा संलग्न हुनुपर्छ ।” बस्तीका घरधनीका श्रीमान् श्रीमतीकै नामामा संयुक्त जग्गाधनी पुर्जा निर्माण गरिएको तथा दश वर्षसम्म विक्री वितरण गर्न नपाइने मालपोत कार्यालय दोलखाले जनाएको छ ।

आफूहरूले लालपुर्जा पाएपछि बल्ल घर आफ्नै भएजस्तो लागेको एकीकृत बस्तीकी ७६ वर्षीय बुधमाया थामीले बताउनुभयो । विनाशकारी भूकम्प २०७२ मा वडा नम्बर एकको बोसिम्पा गाउँ तथा चानपुजेका स्थानीयको घर भत्किएपछि एकीकृत बस्तीमा नयाँ लालपुर्जा तयार गरिएको जनाइएको छ ।  आवश्यक भौतिक पूर्वाधारको विकास गरेपछि सो ठाउँमा भवनहरू बनाइएको छ ।

सो बस्तीमा एकै आकार प्रकारका ५६ वटा तीन कोठे भवन एकीकृत बस्तीमा निर्माण गरिएको छ । यसैगरी सार्वजनिक हल तथा खुल्ला क्षेत्रसहित सो बस्तीमा निर्माण गरिएको छ । जिल्लामा भूकम्पपछिको पुन:निर्माणका क्रममा भीमेश्वर नगरपालिका – १ र वडा ४ मा एकीकृत नमुना बस्तीको निर्माण गरिएको थियो ।

 

Back to top button