नगरपालिकाको फोहोर व्यवस्थापन गर्न ५ वटा अत्याधुनिक उपकरण

दोलखा । बजार क्षेत्रमा सबैभन्दा ठुलो समस्या फोहोरको हुन्छ । नगरपालिका सौन्द्रय होस् वा स्वास्थ्य समस्यामा फोहोर व्यवस्थापनलाई जोडेर हेरिन्छ । बजार क्षेत्रबाट एक ठाउँको फोहोर अर्को ठाउँमा व्यवस्थापन गर्नको लागी बर्षेनी राज्यको करोडौं रुपैयाँ खर्च हुने गरेको छ । यीनै समस्या दुर गर्न दोलखाको भीमेश्वर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न ५ वटा अत्याधुनिक उपकरण ल्याएको छ । सो उपकरणले प्लास्टिक, सिसा र हड्डीजन्य फोहोर व्यवस्थापन गर्ने छ ।

प्लास्टिक तथा हड्डीजन्य पदार्थहरु पुनः प्रयोग गर्न मिल्नेगरि प्रसोधन गरिने र सीसाको धुलो भारत निकास गर्ने योजना रहेको भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले बताउनुभयो ।
नगरपालिका प्रमुखमा निर्वाचित भएर पदभार ग्रहण गरेको दिनदेखिनै नगरपालिकाको फोहोर व्यवस्थापन चुनौती बनेको बताउदै मानन्धरले व्यवस्थापनको समस्यालाई समाधान गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।फोहोर व्यवस्थापनको दिर्धकालिन समस्याको अन्त्य गर्न व्यवस्थापनको कामलाइ तिब्रता दिएको बतााउदै उहाँले यसले ‘स्वच्छ भिमेश्वर, सफा भिमेश्वर ‘अभियानमा सहयोग पुग्ने बताउनुभयो ।
उपकरणले प्लास्टिक सफा गर्ने, सिसाको बोतल, हड्डी पिस्ने र प्लास्टिकका बोतल क्रसिंग गर्ने काम गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको मुख्य समस्या रहेको फोहोरको व्यवस्थापन गर्न करिब ३२ लाखमा थप उकरण ल्याइएको उहाँको भनाई छ । नकुहिने फोहोरहरुको व्यबस्थापन गर्ने उपकरणहरु ल्याएसंगै नगरपालिका भित्रका सबै प्रकारका फोहोरहरुको व्यवस्थापन हुने विश्वास गरिएको नगरप्रमुख मानन्धरले बताउनुभयो ।

फोहोरजन्य बस्तुलाई उचित तरिकाले व्यवस्थापन गर्नेउद्देश्यका साथ उपकरण ल्याइएको नगर प्रमुख मानन्धरले बताउनुभयो । मानन्धरले भन्नुभयो, ३ वटा उपकरण यसअघि नै ल्याइसकेका छौ । उपकरणलाई नगरपालिका वडा नम्बर –६ मा निमार्ण गरिएको सरसफाइ केन्द्रमा राखेका छौं ।
यसअघि नकुहीने फोहोर भिर, जंगलमा लगेर फ्याल्नुपर्ने बाध्यता नगरबासीको रहेको थियो । भारतबाट ल्याएका उक्त यन्त्र–उपकरण एक हप्तापछि सबै सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले तालिका लै बनाएर कुहिने र नकुहिने फोहोर फरकफरक दिनमा उठाँउदै आएको छ ।

Back to top button